शंकर पोखरेललाई कारबाही गर्न चर्को दवाव: होला त कारबाही ? - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

शंकर पोखरेललाई कारबाही गर्न चर्को दवाव: होला त कारबाही ?



काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एक सांसदलाई अपहरण गर्न लगाएर तीन दिनसम्म बन्धक बनाएको खबर बाहिरिएपछि चौतर्फी विरोध भैरहेको छ । अनेक काण्ड गरेर विवादमा आइरहने मुख्यमन्त्री पोखरेल अहिले पनि चर्चा र विवादको केन्द्रमा छन् ।

उनीमाथि लागेको आरोपको उचित जवाफ उनले दिन सकेका छैनन् । तर अपहरण गरी बन्धक बनाइएको भन्दै लुम्बिनी प्रदेशसभाकी सदस्य विमला खत्री वलीले पत्रकार सम्मेलन नै गरेपछि पोखरेल र संलग्नहरू माथि कारबाही गर्न दवाव बढेको छ ।

सर्वत्र चर्चा भएको यो बिषयले ओली समुहमा अपहरण काण्ड भैरहने भन्दै पोखरेलको विरोध गरिरहेका छन् । यस्तैमा नेपाली कांग्रेसका नेता गगन थापाले लुम्बिनी प्रदेशसभाकी सदस्य विमला खत्री वलीलाई अपहरण र बन्धक बनाइएको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकार्षण गराएका छन् ।

नेता थापाले सांसदले नै आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको जस्ता गम्भीर अभियोग लगाउँदै गर्दा राजनीतिकभन्दा अपराधिक मुद्दा भएको बताएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा नेता थापाले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकार्षण गर्दै अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्न भएकाहरूलाई दण्डित गरिनु पर्ने माग गरेका छन् ।

‘लुम्बिनी प्रदेशसभा सदस्य (सांसद) विमलाकुमारी खत्रीले आफूलाई बन्धक बनाएको जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएकोलगायत गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन,’ उनले भने, ‘यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस् ।’

लुम्बिनी प्रदेशसभा सदस्य वलीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएको बताएकी थिइन ।