शंकर पोखरेलको राजनीति कमजोर बनाउने विष्णु पौडेलको रणनीति - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

शंकर पोखरेलको राजनीति कमजोर बनाउने विष्णु पौडेलको रणनीति



काठमाडौं- ‘राजनीति निकै निर्मम हुन्छ’ भन्ने हामीले सुनेको एउटा कथन हो । प्राय हामीले देखेको, भोगेको राजनीति दलहरूबीचको हो । तर एउटा दलभित्र हुने राजनीति कति निर्मम हुन्छ यसका केही उदाहरण रोचक छन् । त्यस्ता रोचक उदाहरणको रूपमा कहिले मदन भण्डारी, कहिले कृष्ण प्रसाद भट्टराई त कहिले माधव नेपालको रूपमा देख्न र सुन्न पाईन्छ । सम्भावना बोकेका नेताहरूको राजनीति सकिएका उदाहरणहरू प्रसस्त छन्, त्यस्तै सम्भावना नभएका नेताहरू सत्तामा कसरी आउँछन् भन्ने पनि देखिएकै छ ।

नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपाका शक्तिशाली महासचिव बनिसकेका विष्णु पौडेल हाल एमालेको उपाध्यक्ष छन् । एमालेको पछिल्लो महाधिवेशनमा महासचिव बन्न निकै कसरत गर्दा पनि पौडेललाई एमालेले पत्याएन । सबैभन्दा ठूलो पार्टीको महासचिव बनिसकेका व्यक्ति तीन टुक्रा भएको पार्टीको कार्यकारी पद पाउन सकेनन् ।

एमालेको विधान अनुसार उपाध्यक्ष पद मात्र हो, जसको कुनैपनि निर्णायक काम गर्न सक्दैन । यो पदको कुनै कार्यकारी अधिकार हुँदैन । नेकपा विभाजन भएर एमाले नै बन्यो, त्यसमाथि एमालेकै एउटा समूह निस्किएर नयाँ पार्टी जन्मियो तर पौडेलको भने जिम्मेवारी झनै साँघुरियो । बरु एमालेकै तेस्रो तहमा रहेका नेता शंकर पोखरेल एकाएक महासचिव बने । पोखरेल अहिले एमालेका शक्तिशाली नेता बन्दैगर्दा पौडेल भने जिम्मेवारीबिहिन बन्दै गएका छन् ।

एकै प्रदेशबाट नेतृत्व गर्ने यी दुई नेताहरूमध्य अहिले शंकर पोखरेलको राजनीतिक उचाई निकै चुलिएको छ । कुनै समय लुम्बिनी प्रदेश एमालेका बर्चस्व राख्ने पौडेल अहिले छाँयामा परेका छन् । आफ्नै चुनावी क्षेत्र रहेको रुपन्देहीमै पनि पौडेलको कमजोर बन्दै गएका छन् । त्यसमाथि पछिल्ल्लो स्थानीय निर्वाचनमा पौडेलले पार्टीको साख बचाउन नसकेको भन्दै आलोचित हुन थालेका छन् । पोखरेल एकाएक शक्तिशाली बनेपछि पौडेल तनावमा छन् ।

यी दुई नेताबीच प्रदेश राजधानीको विषय आवरणमा देखिएपनि त्यो मुख्य कारण भने होइन । प्रदेश राजधानीको विषय त सानो झिल्को मात्रै हो, खासमा एमालेको नेतृत्वसँग जोडिएको विषय मुख्य हो । निकै चतुर्याईका साथ् राजनीतिक शक्ति आर्जनमा लागेका पौडेल एमालेमा अहिले एता न उताका नेता बन्न पुगेका छन् । एमालेकै नेताहरूका अनुसार ढुलमुले स्वभावका कारण पौडेल पछाडी परेका हुन् । अडान लिन नसक्ने, सबैतिर ठिक्क बन्ने र एकपछि अर्को विवादमा तानिएका कारण पौडेलको राजनीति कमजोर बन्दै गएको नेताहरू बताउँछन् । लुम्बिनी प्रदेशको राजधानी बुटवललाई बनाउने विषयमा पनि पौडेलले अडान लिन नसकेको आरोप उनकै पार्टीका नेताले लगाउने गरेका छन् ।

रुपन्देहीका चुनावी अभियानमा पनि विपक्षी दलका नेताहरूसँग साँठगाँठ गरेर बिरासत जोगाउने खेलमा लागेका थुप्रै घटना चर्चामा छन् । त्यतिमात्रै होइन पौडेल बालुवाटारको जग्गा विवादका कारण पनि पार्टीभित्रै विवादित बनेका व्यक्ति हुन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा छोराको नाममा दर्ता भएको भेटिएको थियो तर राजनीतिक शक्ति प्रयोग गरेर उनलाई उन्मुक्ति दिइएको थियो । त्यो पनि सुशासन र समृद्धिको गफ गर्ने केपी ओलीकै सरकारका पालामा ।

पौडेलको गृहजिल्लामै पनि राजनीतिक धरातल खस्किएको छ । पौडेल विवादित बन्दै गएपछि शंकर पोखरेललाई नेता मान्नेको संख्या ह्वात्तै बढेको छ । सुकुम्बासीका बिषयमा पटकपटक बाचा गरेर धोका दिएको, प्रदेशको राजधानीसँग मन्त्रीपद साटेको जस्ता काण्डले पौडेल अहिले आफ्नै पार्टीमा कमजोर बनेका छन् ।

रुपन्देहीमा हिँजो पौडेललाई साथ दिएका प्रभावशाली नेताहरू अहिले शंकर पोखरेल समूहमा छन् । यसैका कारण पनि पौडेल आफ्नै क्षेत्रमा सशंकित छन् । पार्टी विभाजनपछि आफ्नै नेताहरूलाई एमालेमा रोक्न नसकेको आरोप पनि पौडेलमाथि छ ।

यी विभिन्न कारणले पौडेल यसपटकको निर्वाचन जसरी पनि जित्नुपर्ने दबाबमा छन् । उनीमाथि बढेको दबाबका कारण पनि पौडेलले आफ्नो क्षेत्रका निर्वाचन लड्ने अन्य उम्मेदवारसँग निर्मम रूपमा लागिरहेको बताइन्छ । सोहि योजना अनुसार पौडेल केही उम्मेदवारको उम्मेद्वारी नै खारेज गरेर उनको क्षेत्रमा प्रतिस्पर्धाबिहिन बनाउन चाहन्छन् ।

निर्वाचन हार्ने, पार्टीभित्र कमजोर बन्ने, आलोचित बन्ने र आफ्नो क्षेत्रको बिरासत नजोगिने देखेपछि पौडेलले प्रतिस्पर्धा बिना नै निर्वाचन लड्ने योजनामा छन् । यत्ति योजना सफल बनाएर पार्टीलाई आफू शक्तिशाली नै रहेको सन्देश प्रवाह गर्ने उनको रणनीति छ ।

अर्कोतिर शंकर पोखरेलसँगको अन्तर्द्वन्द्वका कारण कमजोर बनेका पौडेल आफ्नो बिरासत फर्काउन चाहन्छन् । त्यसैका कारण पनि रुपन्देहीमा घनश्याम भुसाल र खिमलाल भट्टराईलाई रोक्ने दाउमा उनी लागेका थिए । घनश्याम ओली र पौडेलप्रवृत्तिको कट्टर आलोचक हुन् भने खिमलाल शंकर पोखरेल समूहका नेता हुन् । उनीहरूलाई निषेध गरेर पोखरेललाई कमजोर बनाउने योजनामा पौडेल छन् ।