कांग्रेसलाई जिताउन शंकर पोखरेलले माग्न थाले भोट
विराटनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका लागि भोट मागेका छन् । एमालेका प्रभावशाली नेता मानिएका पोखरेलले आगामी निर्वाचनमा अन्य पार्टीलाई भोट नै हाल्न नपर्ने बताएका हुन् ।
उनले अन्य पार्टीलाई भोट हाल्नै नपर्ने भन्दै एमाले र कांग्रेसबाहेक अरू पार्टीलाई भोट नहाल्न अपील गरेका छन् । एमाले उनको आफ्नै पार्टी भएपनि कांग्रेस एमालेको प्रमुख प्रतिस्पर्धी पार्टी हो । उनले कांग्रेसलाई भोट माग्नुलाई अर्थपूर्ण मानिएको छ ।
उनले आगामी निर्वाचनमा दुईवटा दललाई मात्रै भोट हाल्ने गरि निर्वाचनमा जानुपर्ने बताएका छन् । सोमबार बिराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले मुलुकमा राजनीतिक दलको संख्या घटाउनुपर्ने बताए।
उनले दुईभन्दा बढी दलको आवश्यकता नै नभएको भन्दै एमाले र काङ्ग्रेस बाहेक अन्य दललाई मतदान गर्न आवश्यक नभएको बताए। ‘नेपालमा बलियो राजनीतिक दलको खाँचो छ, दुई भन्दा बढी दल जरुरी छैन’ पोखरेलले भने- ‘एउटा समाजवादतर्फ र अर्को पुँजीवादतर्फ उन्मुख दल रोजौ, दुईटालाई मात्रै भोट हालौ।’
उनले स्थानीय निर्वाचन कुनैपनि बहानामा सार्न नदिइने बताए । एमाले एक्लै पनि गठबन्धनसंग चुनावमा भिड्ने महासचिव पोखरेलले दावी गरे। पोखरेलले नेकपा विघटन भएपछि प्रदेश सरकारहरुको दुर्गति सुरु भएको र त्यो दुर्गतिको नेतृत्व अहिलेको गठबन्धन सरकारले गरिरहेको आरोप लगाए।
उनले एमालेको योजना अनुसार नै एमसीसी पास भएको र त्यसको आलोचनाको भारी भने गठबन्धनलाई नै बोकाइदिएको दाबी गरे।