माधव नेपाल समुहका कारण संसद विघटन भएको हो: शंकर पोखरेल
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि निरन्तर सरकारको बचाउ गर्दै आएका एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निरन्तर वकालत गरिरहेका छन् । सर्वोच्च अदालतमा ओलीको कदमविरुद्ध रिट परेपछि उनको टाउको दुखाई बनेको छ ।
ओली विरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाई हुने दिन पनि पोखरेलले ओलीको कदमको बचाउ गरेका छन् । घुमाउरो पारामा उनले संसद विघटन गर्नुपर्नाको कारण माधव नेपाल समूह भएको संकेत गरेका छन् । संसद विघटन प्रधानमन्त्री ओलीका कारण नभएर पार्टीमा विद्रोह गर्नेहरूको कारण भएको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधि सभाको विघटनलाई स्वाविभ भनेका छन्। “प्रतिनिधि सभाको विघटन संवैधानिक र कानूनीरुपमा स्वभाविक देखिन्छ। राजनीतिक रुपमा त एउटै चुनावी घोषणापत्रवाट चुनाव लडेका र समयक्रममा पार्टी एकता गरेका शक्तिहरुको विभाजनवाट नै नयाँ जनादेश आवश्यक भइसकेको हो,” पोखरेलले भनेका छन्।
मध्यावधि निर्वाचन अपरिहर्य रहेको जिकिर गर्दै कसको नेतृत्वमा चुनावमा जाने भन्नेमा पनि कानूनी आधारमा तय हुनुपर्ने बताएका छन्। “कसको नेतृत्वमा चुनाव गर्ने भन्नेकुरा आग्रहका आधारमा होइन, संवैधानिक र कानूनी व्यवस्थाका आधारमा हुने हो। जुन कुरा केपी शर्मा ओलीको नेतृत्वको पक्षमा नै देखिन्छ,” उनले भनेका छन्।
त्यस्तै, माधवकुमार नेपाललगायतका नेताहरू अलग हुनुलाई आत्मघाती कदम भनेका छन्। “जहाँसम्म जिम्मेवार नेताहरूको विद्रोहको कुरा छ, त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन। राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो,” पोखरेलले भनेका छन्।
अहिले राजनीतिलाई द्वन्द्वतर्फ लग्ने काम भइरहेको उनको आरोप छ। “नेपाली राजनीति सत्ता विरोधी मानसिकतावाट ग्रस्त भएका कारणले विरोधको प्रवृत्ति वढ्दो क्रममा छ। विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो,” पोखरेलले भनेका छन्, “त्यसबाट नेपाली राजनीति नै वहुआयामिक द्वन्द्वको शिकार वन्नु पर्यो। अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोशिस भइरहेको छ।”
उनले संविधानको रक्षाका लागि चुनावमा जानुको विकल्प नभएको दाबी गरेका छन्। पोखरेले भनेका छन्, “जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभावाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प देखिदैन।”