शंख फुक्दा फोक्सोको क्षमता बढ्ने विज्ञको सुझाव - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

शंख फुक्दा फोक्सोको क्षमता बढ्ने विज्ञको सुझाव



काठमाडौं- शरीरको फोक्सो, नसा र स्नायुलाई तन्दुरुस्त राख्न शङ्खनाद प्रभावकारी हुने परम्परागत भनाइ छ। यसलाई आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ तर बिरामी अवस्थाका मानिसलाई भने यस्तो अभ्यास उचित नहुने चिकित्सकले बताएका छन्।

बाँसबारी अस्पतालका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा.गोपालरमण शर्माका अनुसार श्वासप्रश्वास र स्नायु तन्दुरुस्त राख्न शङ्खनाद प्रभावकारी छ । ‘शङ्खनादले फोक्सोका स्नायुलाई स्वस्थ रहन सहयोग गर्छ। स्वस्थ मानिसले शङ्ख फुक्दा फोक्सोको अभ्यास हुन्छ तर बिरामीले भने यो अभ्यास गर्नुहुन्न,’ उनले भने।

प्राण वायु लिने फोक्सो स्वस्थ रह्यो भने श्वासप्रश्वाससम्बन्धी रोगले चाँडो समाउन सक्दैन । चिकित्सकका अनुसार विगत डेढ वर्षदेखि नेपाललगायत विश्वलाई नै आक्रान्त बनाएको कोरोना (कोभिड– १९) श्वासप्रश्वाससम्बन्धी रोग हो । फोक्सोको क्षमता कमजोर भएकालाई कोरोनाले चाँडो आक्रमण गर्छ।

बागमती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा.अञ्जु कार्कीले पनि शङ्खनाद स्वास्थ्यका लागि निकै लाभदायक रहेको बताइन्। उनले भनिन्, ‘शङ्ख फुक्दा रोग प्रतिरोधात्मक शक्ति, मानसिक स्फूर्ति, स्नायुको तन्दुरुस्ती र फोक्सोको कसरत हुन्छ । शरीरमा भएका विकार हटाउने र फोक्साका अक्सिजन थैलीलाई अक्सिजनयुक्त राख्न शङ्ख बजाउनु निकै लाभदायक छ।’

आनन्दखेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्टका डा.पदमराज भारतीले कोरोना संक्रमणबाट जोगिन शङ्ख बजाउन सुझाव दिने गरेको बताए।

पशुपति क्षेत्र विकास कोषका मन्दिर प्रशासन हेर्ने पूर्वप्रमुख कमलबहादुर बोगटीले शङ्खनादको ध्वनिको तरङ्गले वातावरणसमेत स्वच्छ राख्ने विश्वासका साथ पशुपतिनाथमा नित्य शङ्खनाद हुने गरेको जानकारी दिए।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले शङ्ख ध्वनिले मानव मस्तिष्क, स्वास्थ्य, स्नायु, स्मृति ताजा बनाउने बताए। ‘प्रत्येक दिन एक समय घर–घर र मन्दिर–मन्दिरमा यत्रतत्र शङ्खध्वनि गुञ्जन हुनैपर्छ र यो संस्कृतिको संरक्षण पनि हो।’