थापा र बन्दीमध्ये एक जना मन्त्री बन्दै, रामकुमारी झाँक्री पक्का
काठमाडौं- दुई महिना १२ दिन बित्दापनि पूर्णता पाउन नसकेर आलोचित बनेको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । मन्त्रालयको भागवण्डा मिलाउन बुधबार साँझ बालुवाटारमा सत्ता गथाबन्धन्को बैठक बोलाइएको छ ।
सत्ता गठबन्धनको बैठकमा चार वटा दलबीच मन्त्रालय बाँडफाडको टुंगो आज लागाउने तयारी छ । बिहिबार मन्त्रिपरिषद्लाई आंशिक पूर्णता दिने बताइएको छ । जसमा नेकपा एकीकृत समाजवादीले पनि केहि मंत्री पठाउने तयारी गरेको छ । नेकपा एसको तर्फबाट न्यूनतम दुई जना मन्त्री भोलि बनाउनेगरी तयारी गरिएको स्रोतले बताएको छ । त्यसमा सबैभन्दा पहिलो प्रार्थमिकतामा रामकुमारी झाँक्री रहेको दाबी गरिएको छ ।
नेकपा एसबाट नेतृ झाँक्री र अर्का एक जना मन्त्री बनाउने बताइएको छ । यसपटक भने एक जना कानुन व्यवसायीले मन्त्री बन्ने मौका पाउने दाबी स्रोतले गरेको छ । बाहिर भएको चर्चाबीच अधिवक्ता गोविन्द बन्दी र वरिष्ठ अधिवक्ता शम्भु थापामध्ये एक जनालाई मन्त्रिपरिषद्मा पठाउने तयारी भएको बताइएको छ । कानुन व्यवसायीलाई भने कानुन मन्त्रीमै पठाईने बताइएको छ ।
रामकुमारी झाँक्रीलाई भने शिक्षामन्त्री बनाउनेगरी नेकपा एसले तयारी गरेको बुझिएको छ । केन्द्रीय कमिटीको बैठकमा मन्त्री बनाउनेहरूको अनौपचारिक छलफल समेत भएको स्रोतको दाबी छ ।
बालुवाटारमा गठबन्धनको बैठकले मन्त्रालयको संख्या र मन्त्रालयबारे सहमति गरेपछि भोलीमात्रै आधिकारिक नाम सार्वजनिक गरिने बताइएको छ । एकीकृत समाजवादीले ६ वटा मन्त्रालय र त्यसभित्र राज्यमन्त्री एक जनासमेत राख्ने छ ।
पहिलो चरणमा उनीहरू मन्त्री बनेपछि दोस्रो चरणमा भने बिरोध खतिवडा, भवानी खापुङ, शेरबहादुर कुँवर, प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठमध्येबाट मन्त्री बनाउने तयारी पार्टीको छ ।