‘आउट’ हुँदै नेपालको पहिलो महिला मुख्यमन्त्री
काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिँदै छिन्। मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन्। विश्वासको मतसम्बन्धी प्रस्ताव बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ। मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन।
शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी हुन्। नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने भएको हो।
सत्ता लम्ब्याउन प्रदेशसभाको अधिवेशन हतारोमा स्थगित गरे पनि दल विभाजन भएको मितिले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाले शाक्यलाई बाध्य बनाएको हो।
बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । एमालेका तर्फबाट एकल बहुमतका आधारमा शाक्य मुख्यमन्त्री बनेकी थिइन्। उनी मुख्यमन्त्री भएसँगै एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा १३ जना सांसद छन्।
प्रदेशसभामा अहिले एमालेका ४३ सांसद छन्। शाक्यलाई सरकार टिकाउन ५५ मत आवश्यक पर्छ। तर त्यो सम्भावना कम छ। विपक्षी गठबन्धनमा माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी) सँग १३ र जनता समाजवादीसँग १ गरी ५९ सांसद छन्।
उनीहरुले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार बनाउने घोषणा गरिसकेका छन्। तीन मत रहेको विवेकशील साझा पार्टीले पनि शाक्यलाई विश्वासको मत नदिने यसअघि नै घोषणा गरेको थियो।