वागमतीको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्य 'आउट' - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

वागमतीको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्य ‘आउट’



काठमाडौं- वाग्मती प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘आउट’ हुने भएकी छन् । पार्टी विभाजन भएपछि नेकपा एमालेबाट निर्वाचित सांसदहरू माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

बिहिबार नेकपा एमालेबाट निर्वाचित १२ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् । एमालेका सांसदहरू नयाँ पार्टीमा लागेपछि मुख्यमन्त्री शाक्यको पद जाने निश्चित भएको हो ।शाक्यले यसअघि नै पद जोगाउन माधव नेपालको पार्टीमा नजाने घोषणा गरिसकेकी छन्।

एमालेबाट निर्वाचित प्रदेश सांसदहरू राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले आज (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । खनाल अहिले प्रदेश सरकारमा सामाजिक विकासमन्त्री छन् ।

११० सदस्यीय वाग्मती प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ । एमालेको सभामुखसहित ५६ सदस्य थिए । दोलखाका प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएकोले एक स्थान रिक्त छ । उनी एमालेबाट निर्वाचित भएका थिए । अब एमालेसँग ४४ सांसद छन् ।

नेकपा (एमाले)मा माधवकुमार नेपाल समूहमा रहँदै आएकी शाक्यले पार्टी विभाजनमा उनलाई साथ दिइनन् । उनी यही भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् । एमालेको एकल बहुमत रहेकाले उनी संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

उक्त धाराअनुसार बनेको मुख्यमन्त्रीले विश्वासको मत लिनुनपर्ने भए पनि उनले प्रतिनिधित्व गरेको दल विभाजित भएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनविद्हरू बताउँछन् ।

शाक्यले आफू पदका लागि नयाँ पार्टीमा नजाने बताउँदै आएकी छन् । उनी (एकीकृत समाजवादी) मा नआए गठबन्धनको दलबाट मुख्यमन्त्री बनाउने तयारी रहेको नेताहरू बताउँछन् । उक्त पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गठबन्धनले गरेको छ ।