शक्तिशाली पासपोर्टको १०१औँ स्थानमा नेपाल, अमेरिका र बेलायत पनि खस्किए - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

शक्तिशाली पासपोर्टको १०१औँ स्थानमा नेपाल, अमेरिका र बेलायत पनि खस्किए



एजेन्सी- सन् २०१९ का शक्तिशाली पासपोर्ट भएका मुलुकहरूको सुची फेरिएको छ । अमेरिका र बेलायत शक्तिशाली पासपोर्टको पहिलो सूचीबाट एकाएक छैठौं स्थानमा झरेका छन् ।

शक्तिशाली पासपोर्ट भएका मुलुकमा जापान र सिंगापुरका पहिलो नम्बरमा परेका छन् । हेन्‍ली पासपोर्ट इन्डेक्सले सन् २०१९ मा सार्वजनिक गरेको शक्तिशाली पासपोर्टको सूचीमा जापान र सिंगापुर एक नम्बरमा परेका छन् । दुवै मुलुकको पासपोर्टले १९० मुलुकमा फ्रि-भिसाको पहुँच छ ।

हेन्ली पासपोर्ट सूचकांकले वार्षिक रुपमा हरेक मुलुकको यात्रा पहुँचलाई आधार बनाएर पासपोर्टको मूल्यांकन गर्छ । त्यसैगरी दक्षिण कोरिया, फिनल्यान्ड र जर्मनीको पहुँच १८८ मुलुकमा छ । यी तीनवटै मुलुकका पासपोर्ट दोस्रो नम्बरमा छन् ।

पाकिस्तनले उच्च प्रतिबन्धात्मक भिसानीति परिवर्तन गर्दा फिलल्यान्ड लाभान्वित भएको हो । पाकिस्तानले फिनल्यान्ड, जापान, माल्टा, स्विट्जरल्यान्ड र युनाइटेड अरब इमिरेट्सलगायत ५० मुलुकलाई विद्ययुतीय यात्रा अनुमति प्रदान गरेको छ ।

त्यसैगरी युरोपियन मुलुक डेनमार्क, इटाली र लक्जेमबर्गका पासपोर्ट तेस्रो स्थानमा छन् । यी तीन मुलुकका पासपोर्टले १८७ मुलुकमा फ्रि-भिसा अर्थात भिसा अन-अराइभलमार्फत यात्राको अनुमति छ । त्यसैगरी फ्रान्स, स्पेन र स्विडेन १८६ मुलुकको पहुँचसहित चौथो स्थानमा छन् ।

पाँच वर्षअघि अर्थात् २०१४ मा अमेरिका र बेलायत शक्तिशाली पासपोर्ट भएका मुलुक पहिलो नम्बरमा थिए । तर, अहिले दुवै मुलुक छैटौं स्थानमा छन् । बेलायतको ब्रेक्जिट समस्याले यसको पहुँच घटाएको हो । अमेरिकाको आन्तरिक राजनीतिक विवाद र अन्य खाडी मुलुकसँगको सम्बन्धले पासपोर्टको पहुँच घटेको छ ।

त्यसैगरी युनाइटेड अरब इमिरेट्स पाँचौं स्थानमा छ । पाँच वर्षअघि १५औं स्थानमा भएको संयुक्त अरब इमिरेट्सको पासपोर्ट यस वर्ष पाँचौंमा उक्लिएको हो ।

अर्कोतर्फ सबभन्दा कमजोर पासपोर्ट भएको मुलुकमा अफगानिस्तान छ । अफगानिस्तान १०७ औं स्थानमा छ भने १०६ औं स्थानमा इराक, सिरिया १०५, सोमालिया र पाकिस्तान १०४ औं, यमन १०३ औं, लिबिया, प्यालेस्टाइन, सुडान १०२ औं स्थानमा छन् । नेपाल ३८ मुलुकको पहुँचसहित १०१ औं स्थानमा छ भने उत्तर कोरिया र लेबनानका ३९ मुलुकको पहुँचसहित १०० औं स्थानमा छन् ।