शक्ति र सत्ताको आडमा गलत र भ्रामक समाचार सम्प्रेषण नगर्न कांग्रेसकाे आग्रह - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शक्ति र सत्ताको आडमा गलत र भ्रामक समाचार सम्प्रेषण नगर्न कांग्रेसकाे आग्रह



गोविन्द बीसी / कैलाली ।
शक्ति र सत्ताको आडमा गलत र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाली कांग्रेस लम्कीचुहाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केही अमुख ब्यक्तिले शक्ति र सत्ताको आडमा गलत र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै कांग्रेस नगरकार्य समिति लम्कीचुहाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै जथाभावी र अमर्यादित क्रियाकलाप नगर्न कांग्रेसले आग्रह समेत गरेको छ ।

समाजमा भ्रम फैलाउने उद्देश्यका साथ पूर्वाग्रही ढंगले सिंगो नेपाली कांग्रसको गरिमामा आँच आउने किसिमले समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई नेपाली कांग्रेस लम्कीचुहा नगरसमितिले आग्रह गरेको छ ।

स्थानीय सञ्चार माध्यम र सामाजिक सञ्जालमा केही एफएम संचालकले स्थानीय सामाजिक सञ्जालको दुरुपयोग गरि नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक र शुभचिन्तकमाथि आक्रमणको प्रयास गरेको नेपाली कांग्रेस लम्की चुहा नगरसमितिको ठहर छ ।

यस्तै, कांग्रेस नगरकार्यसमितिले शनिबार पार्टी सम्पर्क कार्यालय बलियामा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस लम्कीचुहा नगर प्रमुख रामबहादुर विष्टले स्थानीय सरकारले जनभावना विपरीत काम गरेको भन्दै विरोध गरे ।

पत्रकार सम्मेलनमा विष्टले सरकार सर्वसत्ताबादतर्फ उन्मुख भैरहेको बेला स्थानीय सरकारले समेत दुई तिहाइको दम्भमा केही सञ्चार माध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको दुरुपयोग गरी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको चरित्र हत्या गर्ने षडयन्त्र गरेको आरोप लगाए ।

केहि दिन अघि एफएम रेडस्टारका संचालक बुद्धि प्रसाद जैसी (बसन्त) बाट सञ्चार माध्यम र सामाजिक सञ्जालमा लम्किचुहा नगरपालिका वडा नम्बर ६ स्थित शिवमन्दिरको जग्गा नेपाली कांग्रेसले बिक्री गरेको भनी समाजमा भ्रम फैलाउने काम निन्दनीय भएको विष्टले बताए ।

यस्तै, लम्कीचुहा नगरपालिकाले बिभिन्न वडा कार्यालयको नाममा खर्च गर्दै आएको भाडा रकममा समेत अनियमितता भएको नेपाली कांग्रेस नगर समितिले आशंका ब्यक्त गदै सत्य तथ्य कुरा जनतालाई जानकारी गराउन भनेको छ ।

सांसद विकास कोषबाट सामाजिक सेवा दिनका लागि मोर केयर सेवा समाज नामक संस्थाले सञ्चालन गर्ने गरी खरिद गरेको से १ च १७०० नम्बरको एम्बुलेन्स केही व्यक्तिले नीजि सम्पति सरह प्रयोग गरेकोमा त्यस्ता व्यक्तिहरु माथि छानबिन गरी कारवाही गर्न कांग्रेसले माग गरेको छ ।

नगरपालिकाले विकास निमार्णका कार्यका साथै कृषि तथा पशुपालनका साथै अन्य अनुदानका कार्यक्रममा सत्तापक्षका पार्टी कार्यकर्तालाई मात्र पोस्ने प्रवृतिको अन्त्यको माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति देवानन्द जैशीले नेपाली कांग्रेसमाथि पटक –पटक बिभिन्न बहानामा भैरहेको आक्रमण आफुहरुलाई सह्य नहुने चेतावनी दिएका छन ।

नगरपालिकाका वडा नम्बर ६ मा रहेको जग्गाको बारेमा बाहिर आएको समाचार कपोकल्पित र भ्रामक भएको बताउदै त्यस्ता भ्रममा नपर्न सबैलाई जैशीले आग्रह समेत गरे ।

पत्रकार सम्मेलमा नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति कर्णसिंह साँउदले केहि सञ्चारकर्मीले आफुसंग लिएको अन्तरवार्ता जस्ताको तेस्तै प्रशारण नगरी बल्याकमेलिङ्ग गरेको आरोप लगाए ।