क्रिकेटर शक्ति गौचनले पनि संन्यास लिने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

क्रिकेटर शक्ति गौचनले पनि संन्यास लिने



काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका सिनियर क्रिकेटर शक्ति गौचनले संन्यास लिने भएका छन्। नेपालकाे युरोप टुरपछि संन्यास लिने गौचनले बताएका हुन्।

उनले नेपाली मैदानमा नेपाली दर्शककै अघि खेलेर संन्यासको घोषणा गर्ने जनाएका छन्। ‘नेपालीकै अघि खेलेर रिटायरमेन्ट लिनु कुनैपनि खेलाडीका लागि त्यो क्षण सम्झनलायक हुन्छ।’, गाैचनले भने। उनले कोच तथा खेलाडीसँगको सल्लाहमा नै संन्यास लिन लागेकाे बताए।

युराेप टुरका लागि इंग्ल्यान्ड जान लागेकाे नेपाली टाेलीकाे बिदाइ कार्यक्रममा बाेल्दै गाैचनले अाफ्ना लागि संन्यास लिने याे उपयुक्त समय भएकाे जिकिर गरे। ‘मैले पहिला पनि भनेको थिए कि मभन्दा पनि राम्रो खेल खेल्न मेरा भाइहरुले विश्वास दिलाएकाे बेला मात्रै रिटायरमेन्ट लिन्छु। आज लाग्छ कि अहिले नेपाली टोलीमा प्रतिभाशाली युवा खेलाडीको कमी छैन। त्यसकारण संन्यास लिन यो नै मेरो लागि उपयुक्त समय हो।’

उचित वातावरण मिलेमा नेपालले एकदिवसीय क्रिकेटमा पनि राम्राे खेल्नसक्ने बताउँदै उनले भने,’नेपाली क्रिकेटमा राम्रो खेल खेल्ने १ जना मात्रै हौइन, मभन्दा १० जना बढी निस्कन्छन्। म जसरी पहिलो एकदिवसीय खेल खेलेर संन्यास लिँदै छु। मलाई लाग्छ की अहिलेको टिमका खेलाडीले टेस्ट खेलेर बिदाइ लिनुपर्छ।’

शक्तिले नेपालको राष्ट्रिय टोलीबाट एकदिवसीय खेल्ने चाहना पुरा हुन लागेकोमा समेत खुसी व्यक्त गरे। शक्तिले भने, ‘मलाई नेपालको जर्सीमा एकदिवसीय खेल्ने रहर थियो, त्यो नेदरल्यान्ड्ससँग खेलेर पुरा हुँदैछ। म असाध्यै खुसी छु।’

नेपालले आगामी साउन १३ गते इंग्ल्यान्डको लर्डस् क्रिकेट मैदानमा त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ। मेरिलबोन क्रिकेट क्लब (एमसीसी), नेपाल र नेदरल्याद्बीचमा टी-२० सिरिज हुन लागेको हो। तीन टिमले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

टी-२० सिरिजपछि नेपालले नेदरल्यान्ड्ससँग एकदिवसीय खेलसमेत खेल्नेछ। नेपालले सन् २०१६ पछि नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो।

गौचनसहितको नेपाली टिम भोलि इंग्ल्यान्ड प्रस्थान गर्ने छ।

नेपाली टिम यस्तो छ:

पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल

वैकल्पिक खेलाडी – विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी

लगातार १६ वर्ष क्रिकेटमै

शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन्। सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन्। राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन।

उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ‘३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु’, उनी सुनाउँछन्।

खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए। ‘नेपाली टिमबाट खेल्दा अहिलेसम्म चोटको समस्या भोग्नुपरेको छैन। तर, बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो,’ त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन्, ‘त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।’