रोचक बन्दै माओवादीको महाधिवेशन: महासचिवमा शक्ति बस्नेतको 'इन्ट्री' - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

रोचक बन्दै माओवादीको महाधिवेशन: महासचिवमा शक्ति बस्नेतको ‘इन्ट्री’



काठमाडौं- माओवादी केन्द्रको महाधिवेशन जारी छ । बन्दसत्रमा विभिन्न समूहले छलफल गरेर सुनाएको निष्कर्ष र प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिँदैछन् । नेतृत्व चयनको विषय पेचिलो बनिरहेको बेला माओवादीमा नयाँ ट्वीस्ट देखिएको छ ।

जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसालमध्ये एकजना महासचिव चुनिने पक्कापक्की भएको बेला महासचिवमा अर्का नेताले इन्ट्री मारेका छन् । माओवादी स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले महासचिवमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

बस्नेतले अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व चयनको लागी ल्याएको सर्वसम्मत प्रस्ताव मान्ने तर, निर्वाचन हुने अवस्थामा भने महासचिवमा उम्मेदवारी दिने बताएका छन् । पुर्व गृहमन्त्री समेत रहेका नेता बस्नेतले आफुले महासचिवमा उम्मेदवारी दिने बताएको एक नेताले बताए ।

हाल माओवादी केन्द्रको कर्णाली प्रदेशका इन्चार्ज रहेका बस्नेत पनि पछिल्लो समय माओवादीका एक शक्तिकेन्द्र मानिने गरेका छन् । माओवादीमा महासचिवका लागी मुख्यगरी नेताहरु वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसालबीच रस्साकस्सी भएको बेला शक्ति बस्नेतले पनि इन्ट्री गरेपछि थप रोचक हुने देखिएको छ ।

पछिल्लो समय माओवादीमा शर्मा र पुनबीच महासचिवका लागी चर्को गुटबन्दी भइरहेको छ । उनिहरुले एकले अर्कालाई छोड्ने अवस्था नभएपछि अध्यक्ष दाहालले तेस्रो विकल्पमा जाने सोच बनाएको बेला शक्तिले इन्ट्री मार्नुलाई अर्थपूर्ण मानिएको छ ।

माओवादीका कतिपय नेताहरूले गुट भात्काउनाकै लागि भएपनि पुन र शर्माभन्दा बस्नेतलाई महासचिव बनाउन अध्यक्ष दाहाललाई सुझाव दिएका छन् । तर, माओवादीमा महासचिवका लागी सहमति हुने सम्भावना भने कम छ ।

त्यतिमात्रै होइन आफू महासचिव नभन्ने अवस्थामा जनार्दन शर्माले महासचिवमा बस्नेतलाई समर्थन गर्ने लाइनमा छन् ।नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा आजबाट नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । माओवादी केन्द्रको बन्द सत्र आज १ बजेबाट सुरु हुनेछ ।