सलमान र शाहरुखबीच लफडा भएको कट्रिनाको जन्मदिन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सलमान र शाहरुखबीच लफडा भएको कट्रिनाको जन्मदिन



आज बलिउड अभिनेत्री कटरिना कैफको जन्मदिन हो । कटरिना आज लण्डनमा रहेको उनको घरमा आफ्नो परिवारको साथमा ३५ औँ  जन्मदिन मनाइरहेकी छिन् ।

तर उनले १० वर्षअघिको जन्मदिन कहिल्यै बिर्सने छैनन् । १० वर्ष अघि कटरिनाको जन्मदिनको पार्टीमा शाहरुख खान र सलमान खानबीच मनमुटाव भएको थियो ।

सन् २००८ को १६ जुलाइमा कटरिनाले जन्मदिनको पार्टी राखेकी थिइन् । जहाँ शाहरुख खान र सलमान खान पनि उपस्थित भएका थिए । पार्टीमा सलमान खानले शाहरुख खानसँग आफ्नो टेलिभिजन शो ‘दश का दम’ लाई शाहरुखको शो ‘क्या आप पाँचवी पास से तेज हे’ को तुलनामा राम्रो टीआरपी मिलिरहेको बताएका थिए । सलमानले सुपरस्टार भएर पनि हिट शो गर्न नसकेको भन्दै शाहरुखलाई उक्साइरहेका थिए । सलमानले शाहरुख खानलाई किङ्ग खान जस्तो ट्याग प्रयोग गर्न बन्द गर्न समेत भनेका थिए । सलमानले यो भनिरहँदा सम्म शाहरुख खान चुप लागेका थिए ।

तर पछि जब शाहरुखले सलमानकी पूर्व प्रेमिका ऐश्वर्या रायसँगको सम्बन्धबारे टिप्पणी गर्न सुरु गरे त्यसपछि सलमानले उनको रिस सम्हाल्न सकेनन । त्यसपछि यी स्टारबीच भनाभन सुरु भयो । माहोल निकै खराब भएपछि शाहरुखकी श्रीमती गौरी खानले शाहरुख खानलाई पार्टीबाट बाहिर लगेकी थिइन् भने कटरिनाले सलमानलाई सम्हालेकी थिइन् ।

यो घटनापछि शाहरुख खान र सलमान खानबीच पाँच वर्षसम्म बोलचाल भएन ।  सन् २०१३ मा कांग्रेस नेता बाबा सिद्धिकीले आयोजना गरेको पार्टीमा यी दुईबीचको मनमुटाव सुल्झाइएको थियो ।

त्यही पार्टीमा दुवैले एकअर्कालाई अंगालो हालेर पुरानो दुश्मनीलाई मेटाउने प्रयास गरेका थिए । सन् २०१४ मा सलमानकी बहिनी अर्पिता खानको विवाहमा सलमान र शाहरुखले आफूहरु बीचको दुश्मनी र मन मुटावलाई मेटाउँदै असल साथी बनेका थिए ।