कर्णालीको नयाँ मुख्यमन्त्री बने शाही
काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् ।
मंगलबार उनले २१ प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष दाबी पेस गरेका हुन् । कांग्रेसका ६, नेकपा (माओवादी केन्द)का १२ र नेकपा (एकीकृत समाजवादी)का तीन प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखसमक्ष बुझाइएको हो ।
उनले नेपालको संविधान २०७२ को धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । शाहीले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको उनका सहयोगी राजबहादुर रोकायाले जानकारी दिए ।
यसअघिका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएका थिए । त्यससँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।