कांग्रेसमा लागेपछि श्वेता खड्काले लेखिन् भावुक संदेश
-श्वेता खड्का
कलाकारिता, व्यवसाय अनि सामाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनीतिक मूलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखि नै महामानव बीपी कोइरालाका बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले अन्तत: उनै महामानवको विचारधारामा आफूलाई समाहित गर्दै नेपाली कांग्रेससँग आफ्नो आबद्धता जनाएकी छु । मैले लिएको यो राजनीतिक निर्णयप्रति विभिन्न क्रिया र प्रतिक्रियाहरू अवश्य नै प्राप्त हुनेछन् । यसरी प्राप्त हुने सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रियाहरूलाई म सुझावको रूपमा ग्रहण गर्दै मेरो राजनीतिक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु ।
एउटा कलाकारले कुनै एक पार्टीको ब्यानरभित्र समाहित हुनुहुन्न भन्ने सोच व्याप्त छ । कलाकारले कलाकारिता नै गर्नुपर्छ, राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवादस्वरुप मैले नेपाली कांग्रेसको राजनीतिक सिद्धान्तमा आफूलाई समाहित गराएकी छु । यो निर्णय लिनुभन्दा अगाडि मैले धेरै पटक स्वसंवाद, स्वविश्लेषण र स्वविचार गरेकी छु ।
मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक विकास, परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै व्यक्ति टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो । हामीले राजनीतिबाट जति नै टाढा रहन खोजे पनि हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छ नै । त्यो प्रभावलाई हामी कदापि नकार्न सक्दैनौँ । अत: राजनीतिको यो क्षुण्ण प्रभावलाई आत्मसात् गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ । मेरो यो पाइलामा आमपरिवर्तनकारी, विकासप्रेमी तथा बुद्धिजीवीवर्गको साथ, सल्लाह र सुझाव पाउने आशा बोकेकी छु ।
राजनीति विशुद्ध ‘सामाजिक सेवा’को क्षेत्र हो, न कि ‘व्यावसायिक पेसा’ । राजनीतिलाई कमाइ खाने माध्यमको रूपमा प्रयोग गरी अकुत सम्पत्ति आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरूलाई विस्थापित गराउनका निमित्त अब हामी आफू पनि अग्रसर हुनुपर्ने आवश्यकता महसुस गरेकी छु । सधैँ राजनीतिलाई ‘फोहोरी खेल’को रूपमा परिभाषित गर्दै नेताहरूप्रति ‘धारे हात’ लगाउने अनि गालीको वर्षा गर्ने हाम्रो निष्क्रिय प्रवृत्तिलाई त्याग्ने बेला आएको छ । सिस्टम (प्रणाली) परिवर्तनका लागि सिस्टम निर्माणकै एउटा हिस्सा हुनु जरुरी छ । यसका लागि राजनीति नै एउटा उत्तम माध्यम हो । मैले यही माध्यमलाई आत्मसात् गरेकी हुँ । यसका लागि मैले आदरणीय बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।
मलाई थाहा छ, कुनै पनि राजनीतिक दलको संस्थागत सिद्धान्त खराब हुँदैन । त्यो सिद्धान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको व्यक्तिगत आचरण मात्र खराब हो । एमाले, कांग्रेस, माओवादी, राप्रपालगायत सबै दलका संस्थागत सिद्धान्तहरू राम्रा छन् । सबै दलले विकास, समृद्धि र परिवर्तनका एजेण्डा उठाएका छन । तर, ती एजेण्डाहरू कार्यान्वयन तहमा असफल भएका मात्र हुन् । यही असफलताका कारण उद्योग, व्यवसाय, कलाकारिता, कृषि तथा पर्यटनलगायतका सबै क्षेत्रहरू प्रभावित भएका छन् ।
हाम्रो दैनिक व्यक्तिगत जीवनमा पनि यसको प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको छ । अत: केही सीमित व्यक्तिहरूको स्वार्थका कारण असफल भएका ती एजेण्डाहरूलाई सफल बनाउनका निमित्त हामी सबैको सक्रियताको खाँचो छ । पोखरी फोहोर भयो भनेर त्यहाँ रहेको ‘लेउ’लाई गाली गर्नुभन्दा त्यो लेउ हटाउन आफैँले पोखरीभित्र छिर्ने हिम्मत गर्नुपर्छ । अत: सबै पार्टीमा धेरथोर लेउ लागेको छ, त्यसको सरसफाइका लागि हाम्रो सक्रियताको खाँचो छ ।
मैले आफ्नो राजनीतिक सक्रियताका लागि भने नेपाली कांग्रेसलाई चुनेकी छु । मेरो पारिवारिक पृष्ठभूमिले पनि मलाई नेपाली कांग्रेसको सिद्धान्तलाई अँगाल्न सहयोग पुगेको हो । नेपालको राजनीतिक परिवर्तनमा अहम् भूमिका खेल्ने नेपाली कांग्रेसजस्तो विशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापति तथा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, मेरो व्यावसायिक, सामाजिक तथा राजनीतिक यात्राका लागि मलाई सधैँ हिम्मत, हौसला र ऊर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज व्यक्तित्वहरूलगायत मेरा शुभचिन्तकहरूप्रति म हार्दिक नमन गर्दछु ।
विगतका दिनमा मैले यो पार्टीका लागि व्यक्तिगत रूपमा त्यस्तो ठूलो योगदान दिन सकेकी छैन । आगामी दिनमा भने म मेरो मन, वचन र कर्मले भ्याएसम्मको योगदान दिने प्रयास गर्नेछु । नेपाली कांग्रेसको नीति, सिद्धान्त र यसको मूल्य मान्यतालाई आत्मसात् गर्दै कुनै व्यक्तिगत स्वार्थहरू नराखी स्वच्छ रूपमा सामाजिक विकास र विशुद्ध ‘सेवा’ को भाव बोकेर आफूलाई एउटा असल कार्यकर्ताको रूपमा चिनाउने प्रयासमा कुनै कमी हुन दिने छैन ।
साथै, म एउटा कलाकार र व्यवसायी पनि भएको नाताले यस दलभित्र रहेर तमाम व्यवसायी र कलाकर्मीहरूको हकहितका निमित्त आफ्नो आवाज बुलन्द गर्नेछु । सामाजिक सेवाको पाटोलाई अझ सशक्त रूपमा अगाडि बढाउनका लागि नेपाली कांग्रेससँगको आबद्धताले मलाई थप मार्गप्रशस्त गराउनेमा म विश्वस्त छु ।
अन्तमा, हरेक व्यक्तिलाई आ-आफ्नो राजनीतिक स्वतन्त्रता छ । मेरो वैचारिक सिद्धान्तसँग मेल खाने राजनीतिक दलसँगको निकटता, आबद्धता वा सहकार्यपश्चात् पनि फरक विचार राख्ने कुनै व्यक्ति वा दलप्रति मेरो कुनै पूर्वाग्रह रहने छैन । जो जहाँ रहे पनि, जो जता गए पनि, देश र जनताका निमित्त नि:स्वार्थ भावले काम गर्न सकौँ । जय नेपाल !