संकटकालमा मात्रै सेना परिचालन हुन्छ, अन्य अवस्थामा हुँदैन: प्रधानसेनापति - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

संकटकालमा मात्रै सेना परिचालन हुन्छ, अन्य अवस्थामा हुँदैन: प्रधानसेनापति



काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकमा विशेष कारणवश संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने बताएका छन् । कोभिड व्यवस्थापनका लागि सेना परिचालन गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानसेनापति थापाले संकटकाल घोषणाको अवस्थामा मात्रै सेना परिचालन हुने र अन्य अवस्थामा सेनाले सरकारको सहयोगी अंगका रूपमा मात्रै काम गर्ने स्पष्ट पारे ।

प्रधानसेनापति थापाले बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग आफ्नो दुई वर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी गराउन आयोजित कार्यक्रममा मुलुकको अवस्था साँच्चै नै संकटमा पुगेको निक्र्योल सरकारले गरेको खण्डमा सेना परिचालन हुन सक्ने बताए । ‘यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी नै हो भन्ने लाग्छ भने त्यो अवस्थामा सेना प्रयोग हुन सक्छ । अन्य समयमा भने सेना सरकारको सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने हाम्रो संगठनको धारणा हो,’ प्रधानसेनापति थापाले भने ।

थापाले नेपाली सेना जहिल्यै पनि नागरिक सर्वोच्चताको पक्षमा रहँदै आएको र सरकारको आदेश पालना गर्नु सेनाको कर्तव्य भएको बताए ।

प्रधानसेनापति थापाले संकटको यस घडीमा कसैले पनि कुनै प्रकारको भ्रम फैलाउन नहुने स्पष्ट पारे । कोभिड व्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदको विषयलाई लिएर रक्षा मन्त्रालय र जंगी अड्डाबीच कुनै द्विविधा नरहेको उनले स्पष्ट पारे ।

स्वास्थ्य मन्त्रालयको म्यान्डेटअनुसार स्वास्थ्य सामग्री खरिद गरिएको बताउँदै उनले त्यसका लागि अहोरात्र खटिने जर्नेलहरू र मन्त्रालयका कर्मचारीलाई निरुत्साहित गर्नु दुःखद रहेको बताए ।

प्रधानसेनापति थापाले आफ्नो दुई वर्षे कार्यकाल पूर्ण रूपमा सफल भएको र आगामी वर्ष सेनाको थप सुदृढीकरणमा विशेष ध्यान दिइने बताए ।

प्रधानसेनापति भएलगत्तै पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेर सेनाभित्र सुशासनको थालनी गरेका थापाले आफूले जहिले पनि संगठनलाई पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अपनाउँदै आइरहेको स्पष्ट पारे । उनले नेपाली सेना सञ्चार माध्यमसँग सधैं सकारात्मक र सुमधुर सम्बन्ध बनाउन लागिपरिरहेको बताए ।

सम्पादकसँगको छलफल अघि प्रधानसेनापति थापाले आफ्नो दोस्रो कार्यकालमा भएका उपलब्धिसहित सेनाका सकल दर्जाका अधिकारीहरूलाई सम्बोधन गर्दै आफ्नो जिम्मामा रहेका कार्यहरूलाई सफलतापूर्वक सम्पन्न गर्न निर्देशन दिएका थिए ।