एसइईको नतिजा सार्वजनिक हुँदै - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

एसइईको नतिजा सार्वजनिक हुँदै



काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यहि साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको हो।

परिक्षा बोर्डले देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको जनाएको छ ।

शिक्षाबार शिक्षा पत्रकार समूहले सोमबार गरेको भर्चुअल संवादमा परीक्षा नियन्त्रक खकुरेलले भने, ‘२५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको छ। यसै साता नतिजा प्रकाशनको तयारी गरेका छौं।’

विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैंले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको छ।

तर, विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरूमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटि पाइएका छन्।

एसइई मूल्यांकनका सन्दर्भमा विद्यालयहरू र इकाईहरूसमेत गम्भीर नदेखिँदा केही जिल्लामा समस्या देखिएको खकुरेलले बताए।

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए। कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो।

सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो।