भीभीआइपीहरु कार्यक्रममा नजानु, सुरक्षा थ्रेट छ ! - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

भीभीआइपीहरु कार्यक्रममा नजानु, सुरक्षा थ्रेट छ !



काठमाडौं । नेकपा विप्लव समूहबाट सुरक्षा थे्रट रहेको भन्दै गृह मन्त्रालयले भीभीआईपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ ।

मन्त्रालयले जारी भीभीआईपी र भीआईपीको नाममा जारी गरेको पत्रमा अहिलेको बिसंम परिस्थितीलाई ध्यानमा राखेर जानै पर्ने कार्यक्रम बाहेक अन्य कार्यक्रममा सकेसम्म सहभागी नहुनु भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी हुनै परे पनि सुरक्षा सतर्कता अपनाउन गृहले आग्रह गरेको छ । विशेष गरी गृहले उपत्यका बाहिरको कार्यक्रममा सकभर आवश्यकता हेरी मात्र सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई विभिन्न सभा, समारोहमा सहभागिताका लागि निमन्त्रणा आउँदा सुरक्षा अवस्थालाई ख्याल गरेर मात्र ती कार्यक्रममा सहभागी हुन गृहले पत्राचार गरेको उपराष्ट्रपति कार्यालयको उच्चस्रोतले जनाएको छ ।

अहिले राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुलाई कार्यक्रम निमन्त्रणा दिन आउनेहरुलाई सम्बद्ध पक्षले सुरक्षा थे्रट रहेको जानकारी गराउँदै आएको छ । कार्यक्रममा सहभागी हुन निमन्त्रणा आइरहेका छन् । गृहले उच्च सुरक्षा सतर्कता अपनाउनु भनेको छ’–उपराष्ट्रपतिको सचिवालयका एक अधिकारीले भने।

सुरक्षाको संयन्त्रको विश्लेषण अनुसार पूर्व माओवादीबाट आएका नेता, मन्त्रीहरुलाई थप सुरक्षा थ्रेट रहेको छ । ‘कहींकतै जानैपरे सुरक्षाको चाँजो मिलाउने सक्ने अवस्था, वरपर मानवबस्ती रहेको वा नरहेको स्थितिजस्ता पक्षलाई ख्याल गर्न भनिएको छ’ ।