बन्दको अवज्ञा गरेको भन्दै स्कुल बसमा आगजनी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बन्दको अवज्ञा गरेको भन्दै स्कुल बसमा आगजनी



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ । पार्टीका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा स्कुल बसमा आगजनी गरेका छन् ।

आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जनाएको छ । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ।

यस्तै, आज बाजुराको बडीमालिका नगरपालिका नजिकै शंकास्पद वस्तु फेला परेको छ । बडीमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै रौतहट चन्दपुरको पुर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, झापाको गौरादह नगरपालिका-७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको विरोधमा नेत्र विक्रम चन्द, विप्लव नेतृत्वको पार्टीले आज बन्द आह्वान गरेको छ ।