स्कुल विभागमा अड्कियो नेकपा ,ओली -प्रचण्ड अलमलमा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

स्कुल विभागमा अड्कियो नेकपा ,ओली -प्रचण्ड अलमलमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लाग्नुभएको छ ।

सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुट्नुभएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

विभाग र आयोगको जिम्मेवारी दिने विषयमा भागवण्डा भएर मोटामोटी सहमति जुटे पनि स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेकपाभित्र विवाद रहेको छ ।

स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गरेपछि यसअघि बसेको सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउन सकेको थिएन ।

दुई नेताबीच विवाद बढेपछि पार्टीभित्र आधा दर्जनभन्दा बढी नेताहरुले स्कुल विभागको दावी गरेका छन् । स्कुल विभागको विवाद टुंगो लगाउनका लागि आइतवार अध्यक्षद्धय ओली र प्रचण्डबीच प्रधानमन्त्रीनिवास वालुवाटारमा दुईपटक छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ ।

आइतवार सचिवालयको बैठक बोलाइए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अस्वस्थ्य भएपछि स्थगित भएको थियो । तर आइतबार नै प्रधानमन्त्री ओली आइतबार बिहान सोल्टी होटेलमा भएको एउटा कार्यक्रममा सहभागी हुनुभएको थियो ।

पोखरेललाई अध्यक्ष ओली र श्रेष्ठलाई अर्का अध्यक्ष प्रचण्डको साथ रहँदै आएको छ । नेकपाका नीति तथा प्रतिष्ठानसहित ३३ मध्ये ३२ वटा विभागको भागबन्डा मिलिसकेको छ । स्कुल विभागको नेतृत्वमै अध्यक्षद्वयबीच सहमति जुट्न नसकेपछि दुइटा सचिवालय बैठक स्थगित भइसकेको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अब बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्र ठूलो विवाद छैन, बैठकले निर्णय गर्छ । स्कुल विभागको प्रमुखमा तपाईँको पनि दावी हो भन्ने जिज्ञासामा नेता खनालले नाम आउनु स्वभाविकै भएको प्रतिक्रिया दिनुभयो ।