नेकपाको आमहड्ताल: करिब सय जना पक्राउ, सवारी पनि तोडफोड - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

नेकपाको आमहड्ताल: करिब सय जना पक्राउ, सवारी पनि तोडफोड



काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म करिव एक सय जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले जनाएअनुसार काठमाडौँबाट मात्रै ७६ जना पक्राउ परेका छन् भने भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका छन् । बन्दकर्ताहरू साँझ सम्म थप पक्राउ पर्नसक्ने समेत बताइएको छ ।

त्यस्तै, देशका विभिन्न स्थानमा सवारीसाधनमाथि अगजनी तथा तोडफोडका घटनाहरु भएका छन् । काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताएका छन् ।

गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको प्रहरीले जनाएको छ । बन्द गराउने समूहले सुमोको सिसा फुटाएका छन् ।

त्यस्तै, चाबहिलको मित्रपत्रमा बा ५ ख २०३९ नम्बरको मिनिबसमा तोडफोड गरिएको छ भने कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै बा १ ज ६९३० नम्बरको ट्याक्सीको पछाडि सिसा फुटाइएको छ । नैकापमा बा ७ च ६५३९ नम्बरको कारमा ढुंगा प्रहार भएको छ । यता, चितवन बा ३ ख ३९३, ना १ ख १४३५ र ना ८ ख ४४८० ट्रकको सिसा फुटाइएको छ ।

इलाममा पनि ट्रकमाथि तोडफोड गरिएको छ भने हेटौँडामा बा ७ ख ९२८० नम्बरको ट्रकको सिसा फुटाइएको छ ।