एनपी साउदको प्रश्न: चीनले सीमा मिच्दा ओली र प्रचण्ड किन बोल्दैनन ? - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

एनपी साउदको प्रश्न: चीनले सीमा मिच्दा ओली र प्रचण्ड किन बोल्दैनन ?



काठमाडौँ– नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपाका नेताहरू चीनले सीमा मिच्दा चुप लागेको तर नेपाली कांग्रेसले आवाज उठाइरहेको बताएका छन् ।

उनले जुन देशले मिचेपनि नेपाली भूमि एक इन्च मिचिए कांग्रेसलाई सैह्य नहुने बताए । दार्चुला सदरमुकाम खलंगामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि एक इन्च मिचिए पनि सैह्य नहुने बताएका हुन् ।

“अहिले पनि सीमामा गतिविधिहरु भइराखेका छन् । ती सीमामा भइराखेका गतिविधिका क्रममा नेपालको सीमा एक इन्च पनि कसैले मिच्छ भने त्यसको विरोध गर्नका लागि, जाइ लाग्नका लागि नेपाली कांग्रेस तयार छ,” नेता साउदले भने ।

उनले राष्ट्रियताका लागि संघर्ष गर्दै आएका दार्चुलावासीप्रति सम्मानसमेत व्यक्त गरे ।

“म दार्चुलाका दाजुभाइ दिदीबहिनीहरुले राष्ट्रियताका मामिलामा जसरी संघर्ष गर्नुभएको छ, लड्नुभएको छ । त्यसलाई सम्मान गर्न चाहन्छु, सलाम गर्न चाहन्छु,” नेता साउदले भने ।

उनले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिच्दा सरकारले प्रतिवाद गर्न नसकेको भनदै आपत्ति समेत जनाए ।

“भारतसँग सीमा विवाद हुँदा नक्सा संशोधन गर्ने तपाईं हो । भारतसँग सीम विवाद हुँदा कूटनीतिक मञ्चमा आवाज नठाइकन तपाईंहरु आमसभामा जनतालाई उत्तेजित बनाउने काममा संलग्‍न हुनुभयो,” नेकपाका नेता र सरकारप्रति लक्षित गर्दै साउदले भने, “चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ? भारतले सीमा मिच्दा जति खराब हो, चीनले पनि सीमा मिच्छ भने त्यत्तिकै खराब हो ।”

उनले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने बताए ।

“नेपाली कांग्रेस विधिको शासन मान्छ । कानुनको शासन मान्छ । सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्छ । सर्वोच्च अदालतको निर्णय बमोजिम नेपाली कांग्रेस अगाडि बढ्ने छ,” नेता साउदले भने ।

उनले प्रतिनिधि सभा विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीमात्रै दोषी नभएर पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि उत्तिकै दोषी भएको दाबी गरे ।

“यो सरकारले गरेको काम एक व्यक्ति केपी ओलीले गरेको होइन । यसमा प्रचण्ड, माधव, झलनाथ, वामदेव सबै दोषी छन् । यो दोषको जिम्मा प्रचण्ड खेमा होस वा ओली खेमा, दुबैले लिनुपर्छ,” नेता साउदले भने ।