२३ दिनदेखि अनसन, १३ बुँदे सहमति : यसरी भयो सत्याग्रहको अन्त्य
काठमाडौं- इनफ इज इनफका अभियन्ता ईःले स्वास्थ्य मन्त्रालयका अधिकारीसँगको १३ बुँदे सहमतिपछि अनसन तोडेका छन्। उनी कोभिड-१९ को नियन्त्रणमा प्रभावकारी काम गर्न माग गर्दै २३ दिनदेखि अनसनमा थिए।
अर्का अभियन्ता आलोक सुवेदीले ह्याम्स अस्पतालमा उपचाररत ईःले सहमतिपछि अनसन तोडेको जानकारी दिए। अन्तराष्ट्रिय अनुभव र प्रमाणिकरणलाई हेरेर विज्ञहरूसँग परामर्श गरी राष्ट्रियस्तरमा पनि प्रयोग गर्न योग्य भएमा द्रुतगतिमा गरिने ‘एण्टिजेन’ परीक्षण गर्ने, परीक्षणको संख्या बढाउन आवश्यकता अनुसार प्रयोगशाला सामग्री र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्ने ईः र मन्त्रालयका अधिकारीबीच सहमति भएको छ।
त्यस्तै जटिल बिरामीहरूको लागि आवश्यक पर्ने औषधि तथा औषधिजन्य सामग्रीको पर्याप्त आपूर्तिको प्रबन्ध गर्ने, पीसीआर परीक्षणको नतिजा यथाशिघ्र उपलब्ध गराउने लगायत सहमति भएको छ।
वसन्तपुरमा अनसनरत ईः स्वास्थ्यअवस्था बिग्रिएपछि १७औं दिन अस्पताल भर्ना भएका थिए। यसअघि पहिलोपटक अनसन बस्दा सहमतिपछि सहमति गरी २३ असारमा उनले अनसन तोडेका थिए।
उनी १२ दिन अनसन बसेपछि सहमति बनेको थियो। तर, कार्यान्वयन नभएपछि उनले दोस्रो पटक अनसन थालेका थिए।