सत्ताको न्यानोमा बसेर चिसो भुँइमा बस्नेलाई चुनौती नदेउ: विश्वप्रकाश - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

सत्ताको न्यानोमा बसेर चिसो भुँइमा बस्नेलाई चुनौती नदेउ: विश्वप्रकाश



काठमाडौं: नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गरी वर्तमान सरकार र डा गोविन्द केसीबीच भएको चिकित्सा शिक्षासम्बन्धी सहमतिको स्वागत गरेको छ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस सहमतिमा कांग्रेसको अथक सहयोग रहेको स्मरण गराए। कांग्रेसले सदन अवरोध गरी जनताको काम गरेको उल्लेख गर्दै उनले यो समस्या समाधानको योगदान भएको बताए।

‘नेपाली कांग्रेसले सदन अवरोध गरेकै कारण डा गोविन्द केसीको माग चाँडो सम्बोधन भएको हो। यो जनाको हितमा गरेको काम हो,’ पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘समस्या समाधानमा योगदान हो यो।’

डा केसी अनशनमा रहँदा सत्तासीन दलका नेताहरु वार्ताको कुरै छाडी कांग्रेसलाई आरोप लगाउने र सडकमा अनशनमा रहेका डा केसीलाई राजनीतिमा आउन चुनौति दिएको विषय निकै अमिल्दो रहेको उनको भनाई थियो।

राजालाई श्रीपेच फुकालेर राजनीतिमा आउन चुनौति दिएका मदन भण्डारीकै पार्टीका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा अनशनमा रहेका डा केसीलाई राजनीतिमा आउन चुनौति दिएको कुरा विल्कुलै असुहाउँदो भएको प्रवक्ता शर्माले बताए।

‘जनताका नेता मदन भण्डारीले रंगीन श्रीपेच लगाएका राजालाई राजनीतितमा आउन चुनौति दिए। अहिले केपी ओलीले रङहीन स्लाइन लगाएका डा केसीलाई राजनीतिमा आउन चुनौति दिएका छन्,’ शर्माले भने, ‘सत्ताको न्यानोमा बसेर सडकको चिसो भुँइमा बसेकालाई चुनौति दिनुभयो उहाँले।’

त्यसैगरी पत्रकार सम्मेलनमा कांग्रेसले १५ गतेको प्रदर्शन डा केसी र सरकारबीचको सहमति कार्यन्वयनमा ढिलाई नगर्न खबरदारीका लागि भएको जनाएको छ।