पिसिआर रिपोर्टमै झेल: कुरूप सत्ताको खेल - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

पिसिआर रिपोर्टमै झेल: कुरूप सत्ताको खेल



पोखरा- गण्डकी प्रदेशमा राजनीतिको फोहरी खेल बुधबार देखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिनमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही संसदनै नआएपछि संसद्मै खैलाबैला मच्चियो ।

सांसदहरूले फोन सम्पर्क गर्दा उनको फोन अफ थियो, केहि सांसदहरू उनलाई खोज्न निस्किए, खोज्न निस्किएका सांसद पनि खाली हात फर्केपछि जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो सांसदको अवस्था अज्ञात रहेकोले सार्वजनिक नहुँदासम्म सदनको काम कारबाही नचलाउन संसद् सचिवालयमा निवेदन दिइन् ।

त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद् स्थगन गरे । सम्पर्कविहीन भएका सांसद शाही एक्कासी पोखराकै चरक मेमोरियल अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको पत्ता लाग्यो ।

बुधबार बिहानसम्म स्वास्थ्य ठिक रहेका सांसद शाही दलका नेतादेखि विभिन्न सांसदहरूको सम्पर्कमै थिए । दलका नेता कृष्ण थापासँग त उनले आफू मतदानमा आउने बताएका थिए । यस्तो परिस्थितिमा सांसद शाही अचानक आईसीयूमा भर्ना भएको खबर आउँदा सबै चकित नै भए।

कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी (जसपा) का सांसदले यसलाई सत्तापक्षको ‘षड्यन्त्र’ को रुपमा बुझेका छन् । अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निश्चित भएका सांसद शाहीलाई संसदमा उपस्थित नगराएर सत्ता जोगाउने एमालेको दाउपेचको रुपमा बुझियो ।

सबै सांसदको पीसीआर परीक्षणपछि मात्रै संसद् चलाउनुपर्ने माग राख्दै एमालेका सांसदले संसद् अवरुद्ध गरेपछि मंगलबार नै सबै सांसदको स्वाब संकलन गरिएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको बुधबार बिहान ७:२० बजेको रिपोर्ट अनुसार ३ सांसदमा कोरोना पोजिटिभ देखियो, जसमा शाहीको नाम थिएन ।

स्वकीय सचिव मीलन हमालका अनुसार बुधबार मध्याह्न १२ बजे सांसद शाही एक्कासी ढलेपछि अस्पताल पुर्‍याइएको थियो । सांसद शाही कोरोना संक्रमित भएर आईसीयूमा अक्सिजन दिइएर राखिएको खबर एकाएक फैलियो ।

सार्वजनिक गरिएकों रिपोर्टअनुसार शाहीले पोखराकै लाइफ केयर डायगोनोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिमा स्वाब मंगलबार नै ४ बजे संकलन गरेको देखिन्छ । रिपोर्ट बुधबार बिहान ७:३० बजे पोजिटिभ रिपोर्ट आएको बताइएको छ । सांसद शाहीले मंगलबार एकैदिन दुईपल्ट स्वाब किन दिए भन्ने कुरा नै अचम्मको देखिएको छ ।

सार्वजनिक गरिएको रिपोर्ट अनुसार १० मिनेटको फरकमा आएको रिपोर्टमध्ये पहिलोमा नेगेटिभ र दोस्रोमा पोजिटभ छ ।

यसरी एकैदिन दुई ठाउँमा स्वाब दिनु, एउटामा पोजेटिभ आउनु र अर्कोमा नेगेटिभ आउनुबाट पक्कैपनि कोरोनालाई मोहरा बनाएर सत्ताको कुरुप खेल खेलिएको आशंका जन्मिन्छ । बिहान आफ्नै पार्टीका र अन्य पार्टीका सांसदहरुसंग सम्पर्कमा भएका उने एकाएक सम्पर्कबिहीन हुनु र सांसद जस्तो व्यक्ति बिरामी परेर अस्पतालको आइसीयुमा पुग्दासम्म कसैले सुइँको सम्म नपाउनु भनेको असम्भव नै हुन्छ ।

एकातिर सत्ता जोगाउन मुख्यमन्त्री गुरुङले सुरुवातदेखि नै अनेक हत्कण्डा अपनाउनु र अर्कातिर सांसद नै गायव बनाएर सत्ताको फोहरी खेल खेल्नुले कोरोना र रिपोर्टको सहारा लामो समय नटिक्ने देखिन्छ ।