कम्युनिष्टहरुले सधैभरि सत्ता र जङ्गलबाट जनता तर्साए : खड्का
सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले अधिनायकवादको असफल प्रयास गरिरहेको बताएका छन्। सुर्खेतमा भएको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले उद्यमीदेखि पत्रकारसम्मलाई यो वा त्यो बहानमा त्रासमा पारेर अधिनायवादको अभ्यास गरिरहेको उनको आरोप छ।
कम्युनिष्ट शासन र अधिनायकवाद नेपाली माटोमा नसुहाउने तर्क गर्दै खड्काले जनतालाई तर्साएर कम्युनिष्टहरुलाई सत्तामा रमाउने बानी परेको बताए। ‘कम्युनिष्टहरुले जनतालाई त्रसाउन थाले,’ विप्लवको नाम नलिएरै उनले भने ‘एउटा कम्युनिष्टले सरकारमा बसेर अर्कों कम्युनिष्टले जंगलपसेर जनतालाई तर्साइरहेका छन्।’
नेता खड्काले सरकारले जनताका आवश्यकताहरु पनि पुरा गर्न नसकेको आरोप लगाए। ‘कम्युनिष्टले जनतालाई आसा मात्र देखायो। तर, बाडेको आसा अनुसार कुनै पनि काम गर्न सकेन’, उनले भने, ‘चुनाव अघि आसा देखाए पनि सरकारमा पुगेपछि कम्युनिस्टहरुले तर्साउने काम गरिरहेका छन्।’
खड्काले कम्युनिष्ट सरकारले जनतामा ठूलो निरासा उत्पन्न गराएको भन्दै जनतालाई आसाको दियो जगाउने जिम्मेवारी कांग्रेसकै काधमा रहेको बताए।
सर्वसत्तावाद लाद्न खोजेकाले सरकारप्रति जनता सशंकित बन्दै गएका नेता खड्काले बताए। वर्तमान सरकारबाट जनता आजित बनिसकेकाले आगमी निर्वाचनमा मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी जनताले कांग्रेसलाई दिनेमा आफू विश्वस्त रहेको बताएका थिए। उनले कार्यकर्ताहरुलाई गुटको नभई विचारको राजनीति गरेर एकजुट हुन समेत निर्देशन दिएका छन्।
यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले कम्युनिष्टको पञ्जाबाट मुलुकलाई कांग्रेसले बचाउनु पर्ने बताए। थानीले जनताको जनअपेक्षाभन्दा निराशातर्फ मुलुकलाई कम्युनिष्ट सरकारले धकेलेको आरोप समेत लगाए। ‘मुलुक कम्युनिष्टको पञ्जाबाट अस्तव्यस्त बन्दैछ,’ पूर्व मन्त्री समेत रहेका थानीले भने, ‘देशलाई अनिर्णयको बन्दीतर्फ जान नदिने कांग्रेसले ७७ जिल्लामै सरकारका कलत कदमको पर्दाफास गर्नुपर्छ।’ उनले पनि पार्टीभत्रका अन्तरद्वन्द्व अन्त्य गर्दै सरकारको वेथिति विरुद्ध एक जुट भएर लाग्ने अभियानमा लाग्न महामन्त्री खड्कालाई आग्रह गरे।