सत्ता विवादः प्रचण्ड बोलेपछि नेकपामा नयाँ तरङ्ग
काठमाडौं -नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै विवाद रहेको देखिएको छ ।
उतिबेला लिखित सहमति सार्वजनिक नभए पनि पार्टी र सरकार सञ्चालनमा अहिले ओली हावी हुँदै गएपछि असन्तुष्टिस्वरुप सहमतिपत्र बाहिर आएको हो ।
त्यसो त अध्यक्ष दाहालले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ओली र सरकारप्रति गुनासो र असन्तुष्टि प्रकट गर्दै आएका थिए । तर, अहिले यस किसिमको असन्तुष्टि मुखर हुँदै आएको छ । जसका कारण पार्टीको एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै सत्ता फेरबदलको कुरा उठेको हो । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारी र टपेन्द्र कार्कीले लेखेका छन् ।