शत्रुको गोलीले नढलेका योद्दाहरू ओलीको गुलियोमा फसे: नेता नेपाल - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

शत्रुको गोलीले नढलेका योद्दाहरू ओलीको गुलियोमा फसे: नेता नेपाल



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–नेपाल समूह )का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नभएको दाबी गरेका छन् ।

आइतबार नेकपा प्रवास कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट शब्दबाट घृणा हुने बताए । उनले २०५१ सालमा नेकपा अध्यक्षसमेत रहेका ओलीले ‘कम्युनिष्ट’ हटाउन प्रस्ताव गरेको बताए ।

‘प्रधानमन्त्री ओलीले २०५१ सालमै पार्टीको नामबाट कम्युनिष्ट शब्द हटाउन प्रस्ताव गर्नुभएको थियो तर मैले मानिन,’ उनले भने, ‘प्रधानमन्त्रीले विधि–नीति केही मान्न तयार हुनुहुन्न, व्यक्तिवादी सोचले ग्रस्त हुनुहुन्छ, सामान्ती र निरङ्कुश चिन्तनले ग्रस्त हुनुहन्छ ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले २०५१ सालमा पाल्पामा भएको राष्ट्रीय परिषद बैठकबाट गुटको राजनीति थालेको स्मरण गरेका छन् । उनले प्रधानमन्त्रीतर्फ संकेत गर्दै सत्ताको मात गुलियो र धनको लालचमा रम्नेहरू नै गुटमा बसेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले आफूलाई ‘सुपरम्यान’ सम्झिएको उनको भनाई छ ।

नेता नेपालले प्रधानमन्त्री ओली जनता र जनताको विचारसँग रमाउन नचाहेको आरोप लगाए । उनले भने, ‘केपी कमरेडको गुटका व्यक्तिहरूमा पदको आशक्ति बढेपछी भ्रष्टाचारको दलदलमा फस्नुभयो, त्यसपछि मर्न र मार्न नडराउने स्थिति आएको छ । यतिसम्म कि शत्रुको गोलीबाट नढलेका योद्दाहरू पनि गुलियोमा फसेका छन् ।’

उक्त कर्याक्रममा नेता भीम रावलले भारतीय गुप्तचर प्रमुख सामन्त कुमार गोयलसंगको भेटपछि संयुक्त सैनिक अभ्यास गर्ने प्रयास भएको आरोप लगाएका छन् । उनले नेपालको कानुनभन्दामाथि रहने मिलेनियम च्यालेन्ज कर्पोरेशनको प्रस्तावित बुँदा खतरनाक पक्ष रहेको बताउँदै नेपाली राष्ट्रीयता र स्वतन्त्रता यसबाट खोसिने प्रस्ट रहेको बताए ।

उनले भने, ‘सीआईए का एजेन्ट मन्त्रिपरिषदमा थिए, एमसीसी पास गरेर देश डुबाउन खोज्छन् ।’