कपडा तथा सिलाई व्यवसायीको संस्था कब्जा गर्न खोजेको आरोप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कपडा तथा सिलाई व्यवसायीको संस्था कब्जा गर्न खोजेको आरोप



काठमाडौँ– नेपाल कपडा तथा सिलाई व्यवसायी संघका संस्थापकहरुले बर्तमान कार्यसमितिले संस्था कब्जा गर्न खोजेको आरोप लगाएका छन् । झण्डै दुई दशक पहिले गठित संघ अहिले बर्तमान अध्यक्ष रामकृष्ण श्रेष्ठले नामेट पार्न खोजेको बताइएको छ ।

सङ्घको १७औँ वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्षले मनोमानी गरी संस्था कब्जा गर्न खोजेपछि राजधानीमा पत्रकार सम्मेलन गरी संस्थापक अध्यक्षअरुले सङ्घ यथावत् रहेको बताएका हुन् ।

सङ्घलाई रूपान्तरण गरी महासङ्घमा लैजाने निर्णय १७औँ साधारण सभाबाट पारित भएको तर सङ्घको औचित्य नरहने गरी वर्तमान कार्यसमितिले छुट्टै महासङ्घ दर्ता गरेपछि संस्थापकहरूले विज्ञप्ति जारी गर्दै सङ्घ यथावत् भएको जनाएका हुन् ।

बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी सङ्घका संस्थापकहरूले २०५५ सालदेखि जन्माएको संस्थामाथि कुठाराघात गरी अस्वस्थ राजनीति गरेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यले आफ्नो सम्पत्ति अरूले झुक्काएर लगेकाले आफूहरूले कानुनिरुपमै सम्पत्ति फिर्ता गर्न अगाडी सरेको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, सङ्घको १७ औँ वार्षिक साधारण सभाबाट सङ्घको मौजुदा विधानलाई संशोधन गरी सङ्घको अस्तित्व र आबद्ध सम्पूर्ण सदस्यहरू यथावत् रहने गरी सङ्घलाई महासङ्घमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । तर अध्यक्ष रामकृष्ण श्रेष्ठले साधरणसभाको निर्णय विपरीत २०५५ मा स्थापित सङ्घको अस्तित्वनै मेटिनेगरी जिल्ला प्रशासन कार्यालयमा महासङ्घ दर्ता गराएका रहेछन् भन्दै उनले थपे ‘साधारण सभाको निर्णय विपरीत विधान संशोधन समितिले राजी खुसी छुट्टै कानुनी अस्तित्व बोकेको नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घ जिप्रकामा दर्ता गराएपछी हामीलाई जुट्न र न्याय खोज्न बाध्य बनाइयो ।’

२०७५ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको महासङ्घ नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घको रुपान्तरित महासङ्घ नभएको संस्थापकहरूले दाबी गरेका छन् ।

जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘ नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ २०५५ रुपान्तरित नभएको अवस्थामा यो सङ्घको कानुनी अस्तित्व कायमै रहेको हुनाले नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ २०५५ र नेपाल कपडा तथा सिलाई महासङ्घ छुट्टा छुट्टै कानुनी मान्यता बोकेको संस्था रहेको जानकारी गराइन्छ’

नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घलाई रूपान्तरण गर्ने नाममा तत्कालीन कार्यसमितिले संयुक्त भेलनको नाममा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ २०५५को अधिवेशननै नबोलाई सम्पूर्ण तत्कालीन कार्यसमितिलाई महासङ्घको कार्यसमितिमा समावेश गरी नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ २०५५ लाई शून्यता र अनिर्णयको बन्दी बनाउँदै संस्थालाई निस्क्रिय बनाउन खोजेकोले सङ्घका संस्थापन पक्ष, पूर्व अध्यक्षहरू तथा सदस्यहरू द्वारा तत्कालीन कार्यसमितिको क्रियाकलाप प्रति आपत्ति जनाउँदै सङ्घलाई तिन महिना भित्र जीवन्त बनाइने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सङ्घलाई सक्रिय बनाउनको लागि संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यको संयोजकत्वमा २५ सदस्यीय नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ पुनर्जागरण समन्वय समिति २०७५ गठन गरिएको छ ।

हाल संघमा देशभरका ६४ जिल्लाहरु सक्रिय सदस्यको रुपमा रहेका छन् ।