सर्वोच्चभित्रै उठ्यो गम्भीर प्रश्न: प्रधानमन्त्रीले सर्वोच्च अदालतको आदेश उल्लंघन गरे
काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा अहिले सर्वोच्च अदालतमा सुरुआती सुनुवाई भैरहेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको एकल इजलासमा १९ वटा रिटमाथि आज सुनुवाई हुनेछ ।
बहसको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर सर्वोच्च अदालतको आदेशको गम्भीर उल्लंघन गरेको आरोप लागेको छ। अधिवक्ता बद्री भट्टले प्रधानमन्त्रीले यसअघि सर्वोच्च अदालतले गरेको आदेशको गम्भीर उल्लंघन गरेको बताए ।
बहस गर्दै उनले ‘संविधानको धारा ७६ को सबै प्रक्रिया अवलम्बन गर्नुपर्ने हो भनेर बोलिसकेको छ सर्वोच्चको ११ फागुनको फैसलाले । तर, प्रधानमन्त्रीले त्यो आदेशको गम्भीर उल्लंघन गरेका छन्।’
उनले प्रधानमन्त्री धारा ७६ को ३ अनुसार बनेको प्रधानमन्त्री विश्वासको मत लिन संसदमा जानु पर्ने दाबी गरे । ‘प्रधानमन्त्री संसदमा जानुपर्छ । अहिलेलाई चुनावको प्रक्रिया यथास्थितिमा रहनुपर्छ भनेर अन्तरिम आदेश जारी गरिपाउँ । चुनावले नागरिकको स्वास्थ्यमा पनि असर गर्छ,’ उनले भने ।
यस्तै अधिवक्ता लोकेन्द्र ओली प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको मानहानी गरेको आरोप लगाए । उनले भने, ‘यो प्रधानमन्त्री बन्ने र पदमुक्त हुने प्रतिनिधिसभाबाट हो ।
नियुक्ति र पदमुक्त यहीँबाट हुने हो । प्रधानमन्त्रीले विश्वासको मत लिन पुग्नुभएन । ११ फागुनको पूर्णपाठ नआउँदै हामी जनताको दुर्भाग्य हेर्नुहोस् त प्रधानमन्त्री संसदमा प्रवेश गरेनन्,’ उनले भने ।