सर्वेन्द्र खनालको बिषयले नेकपानिकट विद्यार्थी संगठनमा भाँडभैलो
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्नुपर्ने कि नपर्ने भन्ने विषयलाई लिएर सरकार नेतृत्वकर्ता नेकपानिकट विद्यार्थी संगठनमा किचलो उत्पन्न भएको छ ।
तत्कालिन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालिन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटी खनाललाई महानिरीक्षकबाट हटाउन माग गरेको थियो । अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका उपराष्ट्रपतिपुत्र दीपेश पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त माग संगठनको आधिकारिक नभएको भन्दै आपत्ति जनाएका छन् ।
केही व्यक्तिको मागलाई संगठनको माग भन्न नमिल्ने उनले बताए । उता अखिल महासवि ऐन महरले पनि त्यसमा आपत्ति जनाएका छन् । दुवै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरु प्रतिपक्षभन्दा बढी प्रतिपक्ष भएर हल्काफुल्का रुपमा प्रस्तुत भएको टिप्पणी पुनले गरेका छन् । सरकारविरुद्ध चौतर्फी घेराबन्दी भइरहेका बेला सरकारको मेरुदण्ड प्रहरी संगठनका प्रमुखको राजीनामा मागिनु ‘कामकुरा एकातिर कुम्लो बोकी ठीमितिर भएको तर्क उनको छ ।
‘यो दुई चार दिनको सस्तो लोकप्रियता र बजार विज्ञापनबाहेक केही होइन’ उनले भनेका छन् । यसैबीच अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले गृहमन्त्रीको राजीनामा माग्ने संस्थागत निर्णय भएको बताए । ‘केही साथीले आफ्नो व्यक्तिगत मत राख्नुभएको होला’ बस्नेतले भने, ‘अध्यक्षसहित सबै पदाधिकारी र केन्द्रीय समितिका अधिकांशको सहमतिमा ज्ञापनपत्र बुझाइएको विषयमा हल्का टिप्पणी नगर्न म साथीहरुलाई आग्रह गर्छु ।’
उनले निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा प्रहरीको तर्फबाट गम्भीर कमजोरी भएको तथ्य स्वतन्त्र छानबिन समितिले समेत गरिसकेको अवस्थामा महानिरीक्षक खनाललाई सरकारले हटाउनुपर्ने बताए । उनले गल्ती गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग गर्दा सरकारमाथि आक्रमण नभई सरकारलाई सहयोग पुग्ने जिकिर गरे ।