पार्टी एकताका लागि नेकपा ओली समुहले राख्यो शर्त - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

पार्टी एकताका लागि नेकपा ओली समुहले राख्यो शर्त



काठमाडौँ-अनौपचारिक विभाजन भैसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहले पार्टी एकताका लागि पुरानै प्रस्ताव ल्याएको छ । पार्टी एकता गर्नुपर्ने भन्दै विभिन्न तरिकाले पहल भैरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीमा पेश गरेको आरोपपत्रलाई मुख्य रूपमा लिइएको छ ।

नेकपा का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिलेपनि सयभन्दा बढी सय प्रतिनिधिसभा सदस्य रहेको जिकिर गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा नरहेको र आवश्यक पर्दा बहुमत सिद्ध गरेर देखाइदिन सकिने बताउँदै प्रधानमन्त्रीलाई बीचैमा हटाउन खोजिएपछि मध्यावधि निर्वाचनको घोषणा भएकामा सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट गरे।

प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्नेछ । संसद्मा अविश्वासको प्रस्ताव पेश भएमा र पार्टीको ह्विपविरुद्ध कुनै सदस्य लागेमा विधानबमोजिम कारबाही गरिने उनको उद्घोष थियो ।

नेता भट्टराईले प्रधानमन्त्रीविरुद्ध नेकपाको सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत आरोपत्र फिर्ता, प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कार्याकाल पूरा गर्न दिने सहमति भएमा नेकपाको एकता कायम रहने पनि बताए।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रूपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि स्मरण गराए।

प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले शुक्रबार मुख्य सचेतक देवप्रसाद गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका थिए।