सरकारले चाँडै नै आर्थिक र लगानी मैत्री वातावरण तयार गर्नेछ:उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले चाँडै नै आर्थिक र लगानी मैत्री वातावरण तयार गर्ने बताएका छन् । पुनले मुलुकमा स्थायीत्वसँगै स्थायी सरकारको निर्माण भएकोले कानून र प्रशासनमा समसामयिक सुधारसहित देश समृद्धिको बाटोमा जाने बताएका हुन् ।
नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमिति सदस्यसँगको भेटमा उपराष्ट्रपतिले यस्तो बताएका हुन् । उपराष्ट्रपति पुनले भने, “पूँजीको सृजना र उद्योग व्यवसायको विकासबाट नै समाजवादको विकास हुने भएकोले यसमा सरकारले विशेष ध्यान दिने छ ।”
विकास नहुनुको दोष र जिम्मा कसैले लिने वा दिने भन्दापनि कमी कमजोरी हटाई सरकार र निजी क्षेत्र एक अर्कोलाई विश्वासमा लिएर साझेदारीको धारणाले काम गर्न पर्ने उनको धारण थियो ।
उक्त अवसरमा परिसंघका अध्यक्ष हरि भक्तशर्माले परिसंघले सधैँ मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धनलाई केन्द्रमा राखी आफ्ना धारणा व्यक्त गर्दै आएको र सरकारसँग सहकार्य समेत गरेको धारणा व्यक्त गरे । उनले अब सबै क्षेत्रको लक्ष्य मुलुकको समृद्धि नै भएकोले यो लक्ष्यमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा परिसंघले परिसंघ–प्रवुद्ध परिषद समेतको सहकार्यमा तयार गरिएको समृद्धिको मार्ग चित्रबारे उपराष्ट्रपतिलाई जानकार गराए ।
अध्यक्ष शर्माले परिसंघले तयार पारेको समृद्धिको मार्गचित्र उपराष्ट्रपतिलाई हस्तान्तरण गरे ।