बाबुराम भट्टराई भन्छन: ओली सरकारको काल आयो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बाबुराम भट्टराई भन्छन: ओली सरकारको काल आयो



काठमाडौँ- जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको काल आएको टिप्पणी गरेका छन् । नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ गरेको बिषयलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेकपाको दाहाल–नेपाल समूहकी नेत्री झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेपछि राजनीति तरंगित बनेको छ ।

राज्यविरुद्धको कसुर आरोपमा बिहीबार नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्‍जाल ट्विटरमार्फत सरकारको विरोध गरेका छन् ।

संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईको आरोप छ । भट्टराईले लेखेका छन्- ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता” नै दिन्छ । “संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेकपाको दाहाल–नेपाल समूहकी नेत्री झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।

लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ ।