‘कोरोना नियन्त्रण र उपचारको जिम्मा सरकारकै हो, जिम्मेवारीबाट भाग्न मिल्दैन’
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले कोभिड–१९ को उपचारबाट सरकार पन्छिने निर्णय गलत भएको बताएका छन् । पार्टी प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले कोभिड–१९ को नियन्त्रण र उपचारको जिम्मा सरकारकै भएको बताउँदै पन्छिन नमिल्ने जिकिर गरेका छन् ।
“कोभिड–१९ ले उत्पन्न गरेको चौतर्फी संकट गहिरिँदै गएको छ । यसको नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी हामी सबैको हो र, मुलतः सरकारको हो,” उनले भनेका छन्, “यो महामारी र विश्वव्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति हुँदैन भन्ने कुरा पनि स्पष्टै छ ।”
तथापि, हामी कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको ठहर छ ।
“सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति, योजना र निर्णयहरूलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ । साथै सबै राजनीतिक पार्टीहरू र समाजका सबै पक्षले यसमा सहयोग गर्नुपर्दछ । सरकारले यथाशीघ्र प्रतिपक्षी पार्टीलगायतका राजनीतिक पार्टीहरू र विज्ञहरूको बैठक बोलाई परामर्श गर्नु उचित हुनेछ,” उनले लेखेका छन् ।
त्यस्तै अर्को प्रसङ्गमा नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै विमित राखेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायतसँग प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघ सरकारकै एउटा युनिट भएको बताएकोप्रति असन्तुष्टि जनाएका हुन् ।
“नेपाली जनताको बलिदानीपूर्ण महान् सङ्घर्षको परिणामस्वरुप प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गरिएको नेपालको संविधानको व्यवस्थाविरुद्ध हामी कोही पनि जानुहुँदैन । संविधानको सकारात्मक पक्षहरूको रक्षा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउने दिशामा अघि बढ्नु हामी सबैको जिम्मेवारी हो,” उनले भनाइ छ ।