सरकार संघीयता असफल पार्ने खेल रचेको छ :मुख्यमन्त्री राउत - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सरकार संघीयता असफल पार्ने खेल रचेको छ :मुख्यमन्त्री राउत



काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल पार्ने खेल रचेको आरोप लगाएका छन् ।

अहिले आएको राष्ट्रिय सुरक्षा नीति पंचायतको डिजाइनअनुसार अहिलेको सरकारले ल्याएको भन्दै मुख्यमन्त्री राउतले प्रदेशलाई पंगु बनाउने गरी ल्याउन खोजिएको आरोप लगाएका हुन् ।

पंचायतमा राजदरबारले अञ्चलाधीश नियुक्त गरेजसरी यो सरकारले प्रमुख जिल्ला अधिकारी प्रजिअलाई बलियो बनाउने नीति ल्याएको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको संविधानले प्रजिअलाई चिन्दैन । राहदानी दिने र सीमासुरक्षा हेर्ने काम प्रजिअको हो । शान्ति सुरक्षाको जिम्मा त प्रदेश सरकारको हो ।’

उनले अगाडि थपे, ‘मुलुक संघीयतामा गइसकेपछि तीन तहको सरकार छ । संविधानले सहमति र सहकार्य भनेको छ । सहअस्तित्वलाई स्वीकार्ने भनेको छ । तर अहिले प्रजिअलाई संघीय सरकारले समानान्तर सरकार संचालन गर्नका लागि यस्तो किसिमको प्रावधान ल्याउन खोजेको छ । मुलुकलाई विकास दिनुको सट्टा द्धन्द्ध बढाउन खोज्दैछ ।’

मुख्यमन्त्री राउतले अगाडि स्पष्ट पारे, ‘संविधानले स्पष्ट रुपमा प्रदेशमा शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिएको छ । यो विधेयक संविधान र संघीयता तथा नेपालको धारा ५७ को उल्लंघन हो । प्रदशको अधिकारको अनुसूची ६ को उल्लंघन हो ।’

उनले सरकारलाई आरोप लगाउँदै भने, ‘संघीयता असफल पार्ने र प्रदेश कमजोर पार्ने खेल अनुसार भएको हो । पंचायतले जसरी अञ्चलाधीश राखेर अस्तव्यस्त पारेको थियो त्यसरी नै प्रजिअलाई राखेर संघीय सरकारले खेल रचेको छ ।’

उनले संविधानले परिकल्पना नगरेका विषय उठाउन खोज्नु एकदम गलत भएको भन्दै केपी ओली सरकारलाई प्रश्न गरे, ‘अहिले पनि जिल्लामा प्रजिअलाई शक्तिशाली बनाउन खोजेर सरकारले के गर्न खोजेको ?’