सरकार ! काठमाडौंका सडकमा धान रोपौं ? (फोटो फिचर) - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सरकार ! काठमाडौंका सडकमा धान रोपौं ? (फोटो फिचर)



अमि प्रिन्स
असार १५ मा धान दिवस मनाउने चलन छ । कोही राजधानी बाहिर गएर त कोही राजधानी भित्र कै खेती योग्य जमिनमा धान दिवस मनाइरहेका हुन्छन् । राजधानी भित्रका अधिकांश बाटाहरुलाई नियाल्दा धान रोप्न राजधानी बाहिर जानै पर्दैन भन्न सकिन्छ । खेती योग्य जमिन खोज्नै पर्दैन । अलिअलि पानी परेको बेला बाटोमा गएर धान रोप्न थाल्दा हुन्छ । धान रोप्नलाई तयार पारिएका खेत भन्दा अलिकति पनि फरक छैनन् राजधानीका बाटाहरू ।

खेती योग्य जमिन सकिदैं गएको चिन्ता सरकारले गरेको कुरा बेलाबेला पत्रपत्रिकामा भेटिन्छन् । खेती योग्य जमिन सकिदैं गएको कारण जग्गा प्लटिङ गर्नमा रोक लगाएको सुनिन्छ । तर ! वास्तवमा हेर्ने हो भने त सरकारले खेती योग्य जमिन आफ्नै वरिपरि हुँदा पनि वास्ता नगरेको जस्तो लाग्छ । सडकहरू खेती गर्न तयार पारिएका जमिन नै भइसकेका छन् । महिनौँ बित्दा सम्म पनि भत्किएका सडकहरू बनाइसकेका छैनन् ।

सधैँ असार सुरु हुनै लाग्दा बाटो बनाउने प्रक्रिया सुरु गरिन्छ । अनि असार सुरु हुने बित्तिकै बाटाहरू धान रोप्नलाई तयार हुन्छन् । बर्खामासमा मात्र नभएर हिउँदको समयमा पनि बाटाहरू उस्तै हुन्छन् । असारको बेला यी बाटाहरूमा धान रोप्दिने हो भने मङ्सिरमा मजाले धानका बालाहरू झुल्ने थिए । सरकारलाई चामल आयात गर्ने पिरै हुँदैन्थ्यो ।

त्यस्ता कैंयौं ठाउँहरू छन् काठमाडौँमा जहाँ बाटाहरू बाटा नभएर हिलाम्मे खेत भएका छन् । ठमेल, मैतिदेवी, सिनामंगल, बानेश्वर, बौद्ध, जोरपाटी आदि ठाउँका बाटाहरू त झन् यत्ति मजाले जोतिएर र बाउसे गरेर तयार पारिएका छन् कि मात्र कमी रोपाइँ गर्ने रोपारको छ । सरकारले यस्ता मलिला ठाउँहरूमा वास्ता नगरेपछि स्थानीयले नै पनि कति ठाउँमा त आफैँ धान रोप्न थालेका छन् । तयार परिएको जग्गामा धान रोप्ने समय भइसक्दा पनि सरकारको कुनै प्रतिक्रिया नआउँदा स्थानीयले त्यस्ता ठाउँहरूमा धान रोपेर सरकारलाई सहयोग गरेका छन् । अब बाटोको नाम मात्र भएका यी खेतहरूमा धानका बालाहरू लहलहाउँदै फल्नेछन् मङ्सिरमा ।

यसरी स्थानीयले धान रोप्ने क्रममा बौद्ध–जोरपाटी सडक खण्डमा धान रोपेको कुरा निकै चर्चामा आएको छ । धान रोप्ने समयमा मात्र नभएर हरेक समयमा यहाँका बाटाहरू धान रोप्न तयार भएका हुन्छन् जसकारण हरेकलाई सास्ती हुने गरेको छ । देशभरका विभिन्न ठाउँहरूबाट केही गर्न सपना बोकेर आएकाहरु यिनै हिला बाटाहरूमा आफ्नो खुट्टा अडकिएर निस्कन नसकि तडपिएर बसेका छन् । तर ! मन्त्री ज्यु, नेता ज्युहरू कालो सिसा भएको चिल्लो गाडीबाट सरासर हेर्दै नहेरि आफ्नो बाटो लाग्नु हुन्छ । हेरुन पनि कसरी? जनताको पसिना बेचेर किनेको उनीहरूको गाडीको उचाइ यत्ति अग्लो छ कि उनीहरूलाई बाटाहरू देखिँदैनन् । बाटोको महिनौँ देखिको अवस्था देखिदैंनन् ।

सांसद भवन बानेश्वर पछाडि पनि धान रोप्न तयार पारिएको सडक छ । यहाँ त झन् दैनिक तिनै नेता ज्युहरू आउने जाने गर्नुहुन्छ । तर पनि खै के भएछ उहाँहरूको आँखालाई । आफू नै आउने जाने बाटोको अवस्था पनि देख्नुहुन्न ।

काठमाडौँका मेयर विद्या सुन्दर शाक्यले स्थानियण् निर्वाचनको बेला खाल्डाखुल्डि परेका तथा धान रोप्न हुने सडकलाई सय दिन भित्र पुरेर सडकको निर्माण गर्ने प्रतिज्ञा गरेका थिए । तर ! त्यसपछि मेयर यसरी निदाउनु भयो कि कैंयौं सय दिन जान लाग्दा सम्म पनि उनले भनेको भएको छैन ।

सरकारले यस पटक धान रोप्न निक्कै सडकहरू तयार पारिदिएको छ । नयाँ बानेश्वर, पुरानो बानेश्वर, अनामनगरका भित्री सडक, गौशाला, चाबहिल, सामाखुशी, बौद्ध, कपन, ठमेल, कोटेश्वर, मैह्पी, बसुन्धारा, कलङ्की लगायत राजधानीका अधिकांश सडकहरू धान रोप्न तयार भएको अवस्थामा छन् ।

यसरी सरकारले बनाउने आश्वासन मात्र दिएर निर्माण हुन्छ हुन्छ भनिरहेका सडकहरूका कारण दैनिक केही न केही मात्रामा जनताहरू सास्ती पाइरहेका छन् । तर ! सरकारको देख्दा देख्दै नदेखेको जस्तो गर्ने पवृतिका कारण जनता माथि परेको अपराधको जिम्मा लिने कोही पनि छैन ।

नयाँ बानेश्वर, पुरानो बानेश्वर, अनामनगरका भित्री सडक, गौशाला, चाबहिल, सामाखुशी, बौद्ध, कपन, ठमेल, कोटेश्वर, मैह्पी, बसुन्धारा, कलङ्की लगायत राजधानीका अधिकांश सडकहरूको फोटो हेर्नुहोस:-