संविधान परिवर्तन गर्ने पुटिनको प्रस्ताव: रूसी सरकारको राजिनामा - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

संविधान परिवर्तन गर्ने पुटिनको प्रस्ताव: रूसी सरकारको राजिनामा



एजेन्सी- रुसका प्रधानमन्त्री दिमित्रि मेदवेदेव र उनको पूरै मन्त्रीमण्डलले राजिनामा दिएको छ।

राष्ट्रपति भ्लादमिर पुटिनको देशको वर्तमान संविधानमा व्यापक संवैधानिक सुधारको प्रस्ताव पेस गरेपछि पुटिनलाई सहयोग पुर्याउन उनीहरुले राजिनामा दिएका हुन्।

राजिनामा दिएका दिमित्रि मदवेदेवले राष्ट्रपतिको प्रस्तावले रुसको सत्ता सन्तुलनमा थुप्रै महत्वपूर्ण परिवर्तनहरू ल्याउने बताएका छन्।

‘जब यी प्रस्तावहरु लागु हुनेछन् तब संविधानका केही अनुच्छेदमात्र परिवर्तन हुनेछैनन्, सत्ता सन्तुलन र शक्तिमासमेत परिवर्तन आउनेछ। कार्यकारीको शक्ती,न्यायपालिका , विधानमंडल सबैको शक्तिमा परिवर्तन आउनेछ। यसै कारणले वर्तमान सरकारले राजिनामा दिएको हो’, उनले भने।

पुटिनले गरेको प्रस्तावमा देशभर मतदान हुनेछ र यसबाट सत्ताको शक्ति राष्ट्रपतिको सट्टा संसदमा धेरै जानेछ।

प्रधानमन्त्री पदबाट राजिनामा दिएका दिमित्रिलाई पुटिनले राष्ट्रिय सुरक्षा परिषद्को उपाध्यक्ष बनाउने निर्णय गरेका छन्।

रुसी सरकारबाट अचानक आएको यो राजिनामाले सबैलाई आश्चर्यमा पारेको छ।

एक वक्त्व्य जारी गर्दै राष्ट्रपति पुटिनले सरकारको उपलब्धिका लागि उनीहरुलाई धन्यवाद दिएका छन्।

रुसी सरकारको यो राजिनामालाई धेरैले वर्तमान राष्ट्रपति भ्लादमिर पुटिनको सन् २०२४ मा सकिने राष्ट्रपतिको कार्यकालसँग जोडेर हेरेका छन् किनकी वर्तमान संवैधानिक व्यवस्था अनुसार पुटिन पुनः रुसको राष्ट्रपति हुन पाउँदैनन्।

यस्तोमा संविधानमा गरिन लागिएका परिवर्तनहरुले पुटिनलाई लामो समयसम्म रुसको सत्तामा बसिरहने व्यवस्थाहरू ल्याउनेछ।

यस्तो बताइए पनि संसदको वार्षिक सम्बोधनमा पुटिनले भविष्यमा रुसी राष्ट्रपतिको कार्यकाल दुई पटकमा सिमित गरिनुपर्ने बताएका थिए।

पुटिनले स्टेट काउन्सिलको शक्ति बढाउन पनि सिफारिस गरेका छन्। यसको अध्यक्षता स्वयं राष्ट्रपति पुटिनले गर्छन्।

योसँगै उनले मन्त्रीमंडलको चयन संसदले गर्नुपर्ने प्रस्ताव राखेका छन् तर यस प्रस्तावमा मन्त्रीहरूलाई वर्खास्त गर्ने अधिकार राष्ट्रपतिमा हुने प्रावधान छ।