सरकार, एसपी विष्टको पुजा गर ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सरकार, एसपी विष्टको पुजा गर !



काठमाडौं । निर्मला हत्याकाण्ड भैसकेपछि दोषी देखिएका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई पुजा गर्नुपर्ने देखियो । होइन भने सयौं किलोको मालाले सम्मान गर्नुपर्ने देखियो । जब एउटी चेली बलात्कार पछी हत्या हुन्छ, प्रहरीले प्रमाण नष्ट गर्छ, प्रहरीको आइजीले कानमा तेल हालेर बस्छ, एउटा बलात्कारी लुकाउन राज्य नै लाग्छ र सरकार तामासा मात्रै हेरेरे बस्छ भने एसपी विष्टलाई सम्मान गर्नुभन्दा राम्रो के होला र ?

कन्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट ढुक्क थिएः डीएनए म्याच खाँदैन भन्नेमा । निर्मला बलात्कार र हत्या प्रकणरणका सबैजसो दसी नामेट पार्न सफल विष्टले ढुक्कसँग भनेका थिए : “सबै प्रमाण नष्ट भएको छैन । डीएनए के हो त ? त्यो सबैभन्दा ठूलो प्रमाण होइन ? भोलि खोज्दै जाँदा शंका लाग्ने व्यक्तिलाई टेस्ट गर्दा खुल्छ”।

नतिजा यही आउँछ भन्नेमा उनी विश्वस्त थिए । एसपी विष्टसँगै उनका छोरा किरण र भीमदत्तका मेयर सुरेन्द्र विष्टका भतिजा आयुुषको डीएनए पनि निर्मलाको भेजिनल स्वाबको डीएनसँग म्याच भएन । रिजल्ट नेगेटिभ देखियो । नष्ट गरिएका अरु प्रमाणबारे मुख नखोल्ने विष्ट, डीएनए परीक्षणका लागि किन तयार भए ? उनको कन्फिडेन्सले नै देखाउँथ्यो, यो म्याच हुनेवाला छैन । उनी ढुक्क थिए ।

निर्मलाको शव पानीको आहालमा थियो । घोप्टो अवस्थामा । त्यसैले पनि उनको योनिमा वीर्यको अंश नरहनु अस्वभाविक थिएन । योनीमा माटो हालिएको थियो । जुन सादापोशाककी महिला प्रहरीले पखालिन् । उनले लगाएको ट्राउजर, पेन्टी सबै पखालियो ।  त्यती मात्रै होइन, निर्मलाका सबै लुगा गायब र नष्ट गरिएको गृहमन्त्री आफैंले खुलासा गरिएका छन् ।

जिल्लाको प्रहरी प्रमुखको नाताले उनैले होइन यो सबै दसी सुरक्षित गर्नुपर्ने ? केका लागि र कसका लागि नष्ट गरियो ? अनि कहाँबाट कोसँग हुन्छ डीएनए म्याच? म्याच भएन भन्नुको अर्थ के रहन्छ ? वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउन सक्ने सबै प्रमाण नष्ट भइसकेको अबस्थामा एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए म्याच हुने अबस्था कहाँ रहन्छ ? एसपी विष्टले नै दोषी करार गरेका दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट पनि नेगेटिभ नै आएको होइन र ?
मुख्य कुराः के निर्मलाकै भनिएको भेजिनल स्वाब चाहिँ पक्का हो ? किनकि यतिका प्रमाण नष्ट भइसकेपछि भेजिनल स्वाब निर्मलाकै हो भनेर विश्वास गर्ने आधार के ?

एसपी विष्टको नियत खराब नहोला १ तर सफा पटक्कै थिएन घटनाको शुरुवातदेखि नै । एकपछि अर्को प्रमाण नष्ट भएको छ उनैको नेतृत्वमा । उनैको नेतृत्वमा यो अर्थमा किः निर्मलाकी आमाले छोरी हराएको भन्दै शुरुमा मौखिक उजुरी गर्न जाँदा रातको समयमा पनि खोज्न जान निस्केका सालघारीको अस्थायी प्रहरी चौकीका ईन्चार्ज असई रामसिंह धामी चौकीको गेटमा पुुगेपछि रोकिएका थिए । निर्मलाकी आमा दुुर्गाका अनुसार, सालघारीका असई धामी केही प्रहरी लिएर निर्मलाको खोजीका लागि बम दिदीबहिनीको घर जान प्रहरी चौकीको गेट बाहिर निस्कँदै थिए ।

त्यही बेला असई धामीले जिल्ला प्रहरी कार्यालयमा खबर गरौं भन्दै फोन गरे । बाहिर निस्किइसकेका दिदीबहिनी मात्रै बस्ने घरमा राति जान ठीक हुँदैन भन्दै भित्र पसे । जिल्ला प्रहरीको नेतृत्व उनै एसपी विष्ट थिए । उनकै निर्देशनमा असई धामी निर्मला हराएको रात चौकी बाहिर निस्कन सकेनन् । कारण के ? अनुसन्धान यहीँबाट शुरु गर्नुपर्छ । परिस्थितिजन्य होस् वा नियत  घटनाक्रमले सोध्छः प्रमाण नष्ट गर्ने गराउने सूत्राधार र जानकार एसपी विष्ट बाहेक अरु कोही छ ?

होइन भने सरकार, एसपी विष्टलाई पुजा गर । फुलमाला लगाएर सम्मान गर । निर्मला जस्ता चेली मरेर तिम्रो के बिग्रिन्छ र ?