सरकारले एमसीसी मुख्यालयलाई पठायो पत्र: 'इन्डो–प्यासिफिक र सैन्य गतिविधिबारे स्पष्ट पार्नु' - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

सरकारले एमसीसी मुख्यालयलाई पठायो पत्र: ‘इन्डो–प्यासिफिक र सैन्य गतिविधिबारे स्पष्ट पार्नु’



काठमाडौँ- अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे देशभर विरोध भैरहेका बेला नेपाल सरकारले एमसीसी मुख्यालयलाई पत्र पठाएको छ । सरकारले एमसीसीसँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे प्रश्न उठाएर पत्र पठाएको बुझिएको छ ।

स्रोतका अनुसार नेपालमा एमसीसीको ब्यापक विरोध भएपछि त्यसमा समेटिएका विवादित बुँदाबारे स्पष्ट पार्न सरकारले अमेरिकालाई पत्राचार गरेको हो । एमसीसीकी उपाध्यक्ष फातीमा सुमार नेपाल आउने र सरकारले एमसीसी सम्झौता पारित गर्न लागेको चर्चा चलिरहेका बेला सरकारले यस्तो पत्र पठाएको हो ।

शुक्रबार अर्थ मन्त्रालयले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्राचार गरी विवादित बुँदाबारे स्पष्ट पार्न आग्रह गरेको छ । स्रोतले बताए अनुसार एससीसीका विषयमा नेपालमा ब्यापक विरोध भैरहेको र त्यसमा विवादित बुँदाहरू रहेको कारण मुख्यालयले नै स्पष्ट पार्नुपर्ने भन्दै पत्र पठाएको बताइएको छ ।

खासगरी पत्रमा विवादको केन्द्रमा रहेको नेपालको संविधान र कानुनभन्दा माथि यो सम्झौता रहने कि नरहने, इन्डो–प्यासिफिक रणनीति र सैन्य गतिबिधिका बारेमा स्पष्ट पार्न आग्रह गरिएको बताइएको छ ।

त्यसका अलावा पत्रमा एमसीसी परियोजनाको लेखापरीक्षण नेपालबाट कि अमेरिकाबाट हुने भन्ने स्पष्ट पार्न समेत आग्रह गरिएको बताइएको छ । अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति र सैन्य गतिबिधिकै कारण एमसीसीको अहिले चर्को विरोध भैरहेको छ ।

एससीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउने तयारी गरिरहेको सन्दर्भमा त्यसअघि नै स्पष्ट पार्ने गरी नेपाल सरकारले एससीसी मुख्यालयलाई पत्राचार गरेको हो ।