‘सरकारको प्रयास र प्रयत्न राजपालाई निर्वाचनमा ल्याउने : लेखक - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

‘सरकारको प्रयास र प्रयत्न राजपालाई निर्वाचनमा ल्याउने : लेखक



बुटवल, १ असार  ।

नेपाली काँग्रेस प्रचार प्रसार समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले नेपाली काँग्रेसले जित्दा मुलुकले जित्ने दावी गर्नुभएको छ । नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समन्वय समितिले बुधबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस अंघिका दृष्टान्तले पनि त्यहि देखाएको उल्लेख गर्नुभयो ।

उहाँले पहिलो संविधान सभाको निर्वाचन पछि चार जना कम्युनिष्ट नेताले सरकार चलाएपनि संविधान दिन नसकेको र दोस्रो संविधान सभामा नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकारले संविधान दिएको उल्लेख गर्दै संविधानको स्वीकार्यता बिस्तार गर्न र संविधानको सफल कार्यान्वयनकालागि नेपाली काँग्रेसकै नेतृत्व आवश्यक रहेको जिकिर गर्नुभयो ।

नेपाली काँग्रेससंग नेपाली जनताको विश्वास समेत जोडिएकाले दोस्रो चरणको निर्वाचनमार्फत नेपाली काँग्रेस मुलुकको पहिलो पार्टीको रुपमा स्थापित हुने दावी गर्नुभयो ।

‘२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा काँग्रेस कमजोर भयो, माओवादी र एमालेले आलोपालो गर्दै चार पटक सरकार फेरे, मुलुकले चार जना कम्युनिष्ट प्रधानमन्त्री पायो ।’ उहाँले भन्नुभयो–‘दोस्रो संविधान सभाको चुनाव पछि नेपाली काँग्रेस पहिलो पार्टी बन्यो, सरकारको नेतृत्व गर्यो, संविधान पनि दियो ।’

पूर्व मन्त्री समेत रहनुभएका नेता लेखकले नेपाली काँग्रेसले हार्दा मुलुक र मुलुकका एजेण्डाले पनि हार्ने तथा नेपाली काँग्रेसले जित्दा मुलुक र मुलुकका मुलभूत एजेण्डाले पनि जित्ने बताउनु भयो । अहिलेको मुलभूत मुलुकका एजेण्डा संविधानको स्वीकार्यतालाई बिस्तार गर्ने र संविधानको सफल कार्यान्वयन गर्ने भएको बताउँदै त्यसकालागि सबैलाई मिलाएर अंगाडी बढाउने क्षेमता र ल्याकत नेपाली काँग्रेससंग उहाँले उल्लेख गर्नुभयो ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु सरकारको दायित्व भएको बताउँदै उहाँले शान्ति पूर्ण निर्वाचन र संविधानको स्वीकार्यतालाई बढाउनकालागि पनि राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन आवश्यक भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘सरकारको प्रयास र प्रयत्न राजपालाई निर्वाचनमा ल्याउने छ ।’