बन्ने भए फागुनमा प्रचण्ड प्रधानमन्त्री ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बन्ने भए फागुनमा प्रचण्ड प्रधानमन्त्री !



काठमाण्डु, १५ पुस– प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन परिणामलाई अप्रत्यासित रुपमा लिएको दक्षिण छिमेकी भारतले बाम गठबन्धन भत्काउन अन्तिम प्रयास गरिरहेको एमाले र माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

भारतीय सञ्चार माध्यम, कुटनीतिक मामलाका जानकार तथा सञ्चार माध्यमले नेपालमा बाम गठबन्धनले बहुमत हासिल गर्नुलाई ‘भारतीय कुटनीतिको असफलता र चीनको विजय’ का रुपमा अथ्र्याएपछि राजनीतिक नेतृत्व र गुप्तचर संस्था रअका अधिकारी कसरी बाम गठबन्धन भत्काउने भन्ने रणनीतिका साथ सक्रिय भएका छन् । नेपालमा हुने स–साना घटनालाई समेत सुक्ष्म अध्ययन गरिरहेको बताउने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन परिणाम सार्वजनिक भएको एक सातापछि मात्र नेपालका नेताहरुलाई टेलिफोनमार्फत निर्वाचन सम्पन्न भएकामा बधाई दिनुले पनि भारतलाई चुनावी परिणाम मन नपरेको स्पष्ट बुझ्न सकिन्छ । चुनावी परिणाम सार्वजनिक हुँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीका भावी अध्यक्षका रुपमा हेरिएका राम माधव नेपाल आएर फर्किए । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले र माओवादी केन्द्रका शीर्ष नेतालाई भेटे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले प्रधानमन्त्रीकै अफर गरे । त्यस लगत्तै प्रधानमन्त्री देउवाले प्रचण्डलाई बालुवाटारमा भएको भेटमा पाँच वर्षका लागि प्रधानमन्त्री लेखेर दिने बचन दिए । तर, प्रचण्डले भारत र देउवा दुवैको प्रस्ताव अस्वीकार गरे । भारत नेपालमा विभिन्न बहानाबाजीमा सरकार गठनमा ढिलाई गरेर बाम गठबन्धन कमजोर पार्ने रणनीतिका साथ लागेको छ । उसले यो बीचमा फेरि प्रचण्डलाई प्रधानमन्त्री अफर गरिसकेको दाबी विश्वस्त सूत्रको छ । यद्यपि प्रचण्डले प्रस्ताव अस्वीकार गरेका छन् । एमाले नेताहरुले एकता गर्दा प्रधानमन्त्री, पार्टी अध्यक्ष, राष्ट्रपति र सभामुखजस्ता प्रमुख पद माओवादीलाई दिन नसक्ने बनाउनु र भारतले माओवादी नेतृत्वमा सरकार गठनको पहल तीव्र पार्नुलाई संयोग मात्र मान्न सकिँदैन ।

‘हाम्रो अध्यक्षलाई भारतले फेरि प्रधानमन्त्री बन्नका लागि अफर पठाएको छ’, माओवादी केन्द्रका एक नेताले काठमाण्डुटुडेसँग भने, ‘तर यो सम्भव छैन ।’ काँग्रेस र मधेसवादी दलको समर्थनमा प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउन पाए बाम गठबन्धन टुट्ने विश्लेषण भारतको छ । यद्यपि माओवादी नेताहरुले पटकपटक बाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेको र एकताबाट पछि हट्न नमिल्ने बताइरहेका छन् । प्रचण्डले प्रधानमन्त्रीकै पद अस्वीकार गरिरहेका बेला एमालेले किन भारतलाई खेल्ने मौका दिइरहेको छ भन्ने विषयलाई माओवादीभित्र संशयका रुपमा हेरिएको ती नेताले बताए । एमाले अध्यक्ष केपी ओलीकै भनाइले समेत यस्तो आशंका र चलखेललाई स्पष्ट गरेको छ ।

शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिने चलखेलमा स्वदेशी तथा विदेशी तत्व सक्रिय भएको बताएका थिए । मधेसवादी दल पनि प्रचण्डकै नेतृत्वमा सरकार बनोस भन्ने चाहन्छन् । राजपा अध्यक्ष मण्डलका एक नेताले अबको प्रधानमन्त्री प्रचण्ड हुने दाबी गरे । उनले फागुनसम्म सरकार नबन्ने र सरकारको नेतृत्व प्रचण्डले गर्ने जिकिर गरे ।

काठमाडौं टुडेबाट