५ महिनामै खाल्डा पुर्न सरकार जादुको छडी होइन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

५ महिनामै खाल्डा पुर्न सरकार जादुको छडी होइन: प्रधानमन्त्री ओली



काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले ५ महिनामै सडकका सबै खाल्डा पुर्न नसक्ने बताएका छन् । सरकार कुनै जादुको छडी नभएको बताउंदै उनले यस्तो भनेका हुन।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र त्यस मातहतका विभागहरुको बिनियोजित बजेटमाथि राष्ट्रियसभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू शक्ति केन्द्रित गर्ने पक्षमा नरहेको बताए।

उनले आफू शक्तिशाली बन्न नभई संघीयतालाई बलियो बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा केही विभाग थपिएको पनि स्पष्टीकरण दिए। मुलुकलाई समृद्ध बनाउन  आफूले सरकार बलियो बनाउन चाहेको स्पष्ट पारे।

मन्त्रिपरिषद् कार्यालयमा बजेट धेरै विनियोजन गरेको भन्ने सांसदहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले खर्चमा मितव्ययिताको नीति लिएको बताए। उनले विभागहरुमा छुट्याइएको बजेट प्रधानमन्त्री कार्यालयले नभई सोही विभागले नै खर्च गर्ने पनि स्मरण गराए।

उनले सरकारको मितव्ययिताको दृष्टान्त दिँदै प्रधानमन्त्री कार्यालयमा चिनी नहालेको चिया खाने गरेको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सरकार अनुचित कुराको दबावमा नपर्ने दृढता पनि व्यक्त गरे। उनले सरकार सत्यसँग नडराउने र शक्तिसँग नझुक्ने नीति अनुसार अगाडि बढेको पनि बताए।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई सुशासन र समृद्धिमा दृढ प्रधानमन्त्री पाएकोमा गर्व गर्न पनि आग्रह गरे।