सरकार डा. गोविन्द केसी,रवि लामिछाने र गंगामाया अधिकारीलाई फाँसी देऊ। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सरकार डा. गोविन्द केसी,रवि लामिछाने र गंगामाया अधिकारीलाई फाँसी देऊ।



कर्ण बहादुर अधिकारी 

गरिबीको रेखा मुनी जाँतोमा सातु पिसिएझैँ पिसिएको नेपाली जनताको छोरा छोरीले डाक्टर नर्स बन्ने सपना देख्नु गलत हो भन्ने मेडिकल माफियाहरूलाई चुनौती दिँदै ती गरिब तथा असहाय नेपाली जनताका छोरा छोरीले सहज सरल र सुलभ तरिकाबाट डाक्टर बन्न पाउनु पर्ने,त्रिबि शिक्षण अस्पताल सरकारी स्वामित्वमा रहेको संस्था भएकाले त्रिवेणी शिक्षण अस्पतालको शैक्षिक कार्यक्रम र सेवा प्रवाहको सम्पूर्ण आर्थिक भार राज्यले व्यहोर्ने व्यवस्था गर्नु पर्ने,हाल १० प्रतिशत मात्र शय्याहरू निःशुल्क भएकोमा त्यसलाई बढाएर ५० प्रतिशत पुर्‍याइनू पर्ने,आम नागरिकहरूका लागि उपचार सस्तो र सुलभ बनाउनु पर्ने।

मेडिकल माफियाको अन्त्य हुनु पर्ने,आइसियू, एनआइसियू,अपरेसन थिएटर लगायतका संरचना र क्षमता बिस्तार गरेर अधिकतम बिरामीलाई सेवा दिने र अपरेसनको ‘क्यु’ घटाउन वातावरण सृजित गराई दिनु पर्ने,संविधानमा लेखिए बमोजिम स्वास्थ्य सेवा निःशुल्क गर्नु पर्ने,न्यायालयलाई भ्रष्ट्राचार मुक्त गराउनु पर्ने,विकट क्षेत्रमा पनि मेडिकल कलेज स्थापना हुनु पर्ने,डिन नियुक्तिमा मर्यादाक्रम अनुरूप हुनु पर्ने,मेडिकल माफियाहरूको सहकार्यमा मेडिकल कलेजहरूलाई संबन्धन दिने कार्य रोक्नु पर्ने,आईओएमको अधिकार नाजायज रूपमा प्रयोग गर्नेहरूलाई कार्बाहीको दायरामा ल्याउनु पर्ने लगायतका मागहरू राख्दै १५ औँ पटक विकट पहाडी जिल्ला जुम्लामा आमरण अनसन बस्दै गरेका डा. केसी कुनै व्यक्ति वा पार्टीबाट परिचालित हुन भनी विभिन्न मिडियामा प्रचारबाजी गर्ने व्यक्तिहरूलाई हार्दिक श्रद्धाञ्जली दिनु सिवाय अरू केही शब्द नै छैन।जसले देश र नेपाली जनताको स्वास्थ्य सेवाको निमित्त आफ्नो जीवनका सम्पूर्ण समय दिन रात नभनी अहोरात्र खटिएर सादगी जीवन बिताए आज उहाँलाई नै सरकारले पक्राउ गर्ने यातना दिने जस्ता कार्य गर्नु पक्कै पनि राम्रो होइन।

स्वास्थ्य क्षेत्रको सुधारका लागि विगतका दिन देखि नै सरकारसँग विभिन्न माग राख्दै आमरण अनसन बस्दै आएका केसीको कुनै पनि व्यक्तिगत स्वार्थ भने देखिँदैन।केसी अनसन बसे यता नेपालमा कयौँ पटक सरकार परिवर्तन भए प्रधानमन्त्री डा.बाबुराम भट्टराई,राष्ट्राध्यक्ष खिलराज रेग्मी, प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला, प्रचण्ड,शेर बहादुर देउवा र केपी ओलीले राज्य सत्ताको बागडोर सम्हाले सत्तामा हुनी जेल मागहरू पुरा गर्छु भन्दै कागजी प्रक्रियाबाट अनसन तोडाए पनि तर वास्तवमा यिनको माग कहिले पुरा गरेनन् र यिनलाई पटक पटक आमरण अनसन बस्न बाध्य पारियो।सत्तामा हुनी बेला केही नगर्ने र सत्ता बाहिर भए पछि डा. केसीको माग जायज हो भन्दै राजनीति करण गर्नु राम्रो कुरा होइन।आज सरकारले डा. केसीलाई मृत्युको मुखमा धकेल्ने चेष्टा गरी रहेको छ।

देश र जनताको पक्षमा लडी रहेका डा. केसीलाई साथ दिनुको साट्टोमा मेडिकल माफियाहरूलाई फाइदा पुग्ने गरी नयाँ स्वास्थ्य अध्यादेश जारी गर्न लागेको अवस्थामा सरकारले यसरी बारम्बार आमरण बस्न बाध्य तुल्याउनुको साट्टो सरकार सँग मेरो एउटै अनुरोध जनता र देशको न्यायको लागि न्यायको दियो बन्न खोज्ने केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएर राणा कालीन सरकारले झैँ लाखौँ जनताको सामु टुँडिखेलमा ल्याएर फाँसी देऊ किनकि नेपाल सतीले सरापेको देश हो राम्रो गर्नेको कहिले पनि भलो हुँदैन र हुन दिँदैनन् पनि।

यसै गरी गरिब असहाय तथा न्याय नपाएका जनताको आवाज बनेर पत्रकारिता जगतमा उदयमान पत्रकार रवि लामिछानेले विदेशमा अलपत्र परेकी नेपाली चेलीको उद्धार,भ्रष्ट्राचारी घुषखोरीहरूलाई स्ट्रिङ अप्रेसनको नाममा ३ करोड नेपाली जनता माझ ल्याई दिनु नै गलत हो भने रविलाई पनि फाँसी देऊ सरकार।त्यसरी नै माओवादी द्वन्दकालमा १७ वर्षीय छोरा कृष्ण प्रसाद अधिकारीको माओवादीको तर्फबाट हत्या गरिए पश्चात् हत्यारालाई कार्बाही होस भन्ने माग राख्दै न्यायको लागि लडेका गोरखा फुजेलका नन्द प्रसाद अधिकारीको अनसनको समयमै मृत्यु भएको र गङ्गा देवी अधिकारी विगत केही वर्ष देखि वीर अस्पतालमा आमरण बस्दै आएकी छिन।यदि गङ्गा मायाले न्यायकै लागि लडाई लड्नु गलत हो भने गङ्गालाई पनि यसरी तड्पाउनुको साट्टोमा फाँसी देऊ किनकि मेरो देशमा न्यायको लागि लड्नेहरूको कुनै सुनुवाइ हुँदैन।

समय बदलियो,बिचार बदलियो,राज्य सत्ता बदलियो तर राज्यको बागडोर सम्हाल्नेहरूको राज्य चलाउने शैली कहिले बदलिएन।न त यो देशमा अन्याय परेकाले न्याय पाए नत राम्रो गर्नेले नै स्थान पाए।यहाँ त जसले दुई नम्बरी,चोरी,गुण्डागर्दी,भ्रष्ट्राचार गर्छ त्यसैसँग सरकार साँठगाँठ गर्न माहिर छ।जनताको आवाज र अधिकारलाई कुण्ठित गराउनका लागि राज्य सत्ता लागि परेको छ।