सरकारले जनयुद्ध शुरु गर्न बाध्य पार्‍यो, भोलिको नेपाल बन्द यसको सुरुवात हो - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

सरकारले जनयुद्ध शुरु गर्न बाध्य पार्‍यो, भोलिको नेपाल बन्द यसको सुरुवात हो



काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिहीबारको नेपाल बन्दलाई सशक्त र प्रभावकारी बनाउन देशभरका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएलगतै महासचिव नेत्र विक्रम चन्द विप्लवले आन्तरिक छलफल थालेको उपत्यका स्तरीय कमिटीका एक नेताले बताएका छन्।

‘सरकारले जनयुद्ध शुरु गर्न बाध्य पार्‍यो, भोलिको नेपाल बन्द यसको प्रारम्भ हो, त्यति ठान्नुस्,’ नेकपाका नेता रणदीपले भने, ‘चाँडै पार्टीले आधिकारीक धारणा बनाएर सार्वजनिक गर्छ, यति बुझ्नुस् जनयुद्ध शुरु भयो, कथित प्रतिबन्धको प्रतिरोध गर्छौं।’

रणदीपले महासचिव विप्लव उपत्यका आसपास नै रहेको उल्लेख गर्दै तत्कालै पार्टीको केन्द्रीय बैठकबाट आधिकारीक धारणा बनाउने अपेक्षा व्यक्त गरेका छन्। केपी ओली नेतृत्वको सरकारले दमनको रणनीति लिएकाले त्यसको प्रतिरोध गर्ने उनले बताए।

केही समययता विप्लवको आधार इलाका मानिएका क्षेत्रमा प्रहरीले छापा मारिरहेको र मंगलबार साँझ प्रतिबन्ध नै लगाएपछि आक्रोशित भएको विप्लव नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको छ।

पश्चिमका पहाडी जिल्लासहित विभिन्न जिल्लामा बुधबार साँझ मसाल जुलुसको आयोजना गरिएको नेता रणदीपले जानकारी दिए।

‘जनताको अधिकारी स्थापित गर्न र ओली, प्रचण्ड जस्ता जनविरोधीहरुलाई परास्त गर्न हामी जनयुद्धको अन्तिम तयारीमा छौं,’ उनले भने।

७७ वटै जिल्लामा सयौं कार्यकर्तालाई परिचालन गरिएको जानकारी दिँदै रणदीपले बन्द सफल पारेर पार्टीको पूर्वघोषित कार्यक्रम सफल पार्न आग्रह गरेका छन्।