भगवानप्रतिको भरोशा पनि उडेपछि…
काठमाडौं- कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको सत्भरा गाउँ। गाउँका करिब दुई सय घरमध्ये आधाउधि कच्ची छन्। विकासका न्यूनतम पूर्वाधारको समेत अभाव छ।
खेती किसानी यहाँको मुख्य पेसा हो तर खेतीका लागि आकासे पानीको भर पर्नुपर्छ। अधिकांश युवा बेरोजगार छन्। ऋणपान गर्न सक्ने र अलिकति खर्च जुटाउन सक्ने केही युवा मलेसिया र खाडी पुगेका छन्।
नसक्नेहरू भारतको मुम्बई जान्छन्। चरम गरिबी भए पनि गाउँमा रहेकाहरूको मुहारमा परदेसिएका आफन्तसँग फोनमा हुने कुराकानीले बेलाबखत मुस्कान ल्याउँथ्यो। परदेशबाट आफन्त ढिलोचाँडो खुसी बोकेर घर फर्किन्छन् भन्ने आसमा बाँचेको थियो सिंगो सत्भरा गाउँ।
२०७२ पुस १३ गते सबेरै मुम्बईबाट आएको फोनले भने यसअघि जस्तो सुखद सन्देश ल्याएन। पुसको ठिहिरोलाई छेड्दै आएको त्यो सन्देशमा अकल्पनीय दुःख मिसिएको थियो।
त्यसको सार थियो– मुम्बईको भिबन्डीस्थित एउटा कबाडी काठ गोदाममा राति २ बजेतिर एकाएक आगो सल्कियो। त्यतिबेला गोदाममा काठका मुढा ओसार्ने ११ जना मजदुर मस्त निद्रामा थिए।
तीमध्ये सात जना नेपाली र एक भारतीय ठाउँको ठाउँ बिते। उनीहरूको शव चिनिँदैनथ्यो।
उनीहरूमध्ये सत्भराका लौटु मोराइन (३० वर्ष), भुइँधर यादव (२७ वर्ष), गौरी चौहान (२७ वर्ष) र राजु चौहान (२५ वर्ष), विक्रम रइदास (१८ वर्ष) तथा कपिलवस्तुकै बराइपुर गाउँका रामदयाल भर (३८) र निरज चौधरी (२१) थिए।
यही गाउँका विनोद यादव, धिरु लोनिया र बुधे लोनियाले हाम फालेर ज्यान जोगाए। विनोदको शरीरको आधा भाग जलेको थियो।
मुम्बईको त्यस आगलागीको ‘लप्का’ केही घण्टामै सयौं किलोमिटर परको सत्भरा र बराइपुर गाउँ पुग्यो। खबर पुग्नासाथ गाउँमा कोलाहल मच्चियो।
आफन्त गुमाएकाहरू छाँद हालेर रुन थाले। कर्मास्थित जनता माविका शिक्षक त्रिभुवन गिरी त्यो घटना सम्झिँदै भन्छन्, ‘पूरै गाउँ अचानक के भयो, कसरी भयो भनेर स्तब्ध भयो।’
घटनाको चार वर्षपछि सत्भरा गाउँ पुग्दा पनि पीडित परिवारको अनुहारबाट शोकको रङ उडिसकेको थिएन।
शान्ति मोराइनका श्रीमान् लौटु मुम्बई गएको १५ दिन मात्र भएको थियो। उनी धेरथोर कमाइ गरे परिवार सजिलैसँग पाल्न सकिएला भनेर मजदुरी गर्न परदेश हिँडेका साथीभाइको पछि लागेका थिए। अभावमा हुर्किरहेका ससाना छोराछोरीको अनुहार हेरेर शान्तिले श्रीमान्लाई रोक्न सकिनन्।
घटनाको अघिल्लो दिन राति सुत्ने बेला पनि शान्तिले लौटुसँग खैखबर सोधेकी थिइन्। त्यस दिनको कुरा उनले सुनाइन्, ‘हालखबर राम्रो छ भन्नुभएको थियो, छोराछोरीबारे सोध्नुभएको थियो।’
अहिले पनि उनलाई घटना सम्झँदा कहाली लाग्छ, पहाडै खसेजस्तो हुन्छ। ‘त्यस्तो हुन्छ भन्ने थाहा पाएको भए किन पठाउँथे होला र?’ शान्तिले भनिन्।
शान्ति मृत श्रीमान्को अनुहार हेर्न जान सकिनन् पैसा नभएकाले। मुम्बई गएका छिमेकीले उनका श्रीमान्को दाहसंस्कार उतै गरिदिए। यतिबेला शान्तिलाई साना दुई छोरी कसरी हुर्केलान् भन्ने पिरलोले छोपेको छ।
श्यामदेव अहिर (यादव) का दुई छोरा भुइँधर र विनोद मुम्बई गएको १० महिनाजति भएको थियो। उनीहरू बेलाबखत घरखर्च पठाउँथे। आगलागी हुनुभन्दा दुई साताअघि मात्र श्यामदेवले छोराहरूसँग फोनमा बात मारेका थिए।
उनलाई के थाहा, जेठा छोरासँगको त्यो कुराकानी अन्तिम होला भनेर। भुइँधरले त्यतिबेला फोनमा भनेका थिए, ‘अब केही दुःख नगर्नु, हामी गर्छौं।’
आगलागीमा परेका श्यामदेवका कान्छा छोरा विनोद उपचारपछि भाउजू र पत्नी लिएर गाउँ फर्के। कान्छा छोरालाई देख्दा श्यामदेवलाई जेठा छोराको सम्झनाले धुरुक्क पार्छ।
आमा सोनमतीको अनुहारमा शोकको बाक्लो रङ पोतिएको छ। श्यामदेवलले सोनमतीको अनुहारतिर हेर्दै मधुरो स्वरमा भने, ‘त्यत्रो लक्का जवान छोरो गुमाएको कुरा कसरी बिर्सनु, अब आफैं माटामा मिसिएपछि मात्र बिर्सन्छु।’
६५ वर्षीय परसरी लौनिहा चौहानको व्यथा श्यामदेवको भन्दा चर्को छ। उनले मुम्बईको आगलागीमा दुई जवान छोरा गुमाए। गाउँलेकै साथ लागेर उनका छोराहरू गौरी र राजु मुम्बई गएको दुई महिना मात्र भएको थियो। घटनाको आठ दिनअघि मात्र उनले दुवै छोरासँग फोनमा कुरा गरेका थिए।
दुई छोरा बितेको धेरै वर्ष भइसक्दा पनि परसरीले आफूलाई सम्हाल्न सकेका छैनन्। तीन वर्षअघि भित्रिएकी कान्छी बुहारी, सानो नातिको अनुहार देख्दा उनको गह भरिन्छ। गौना नभएकाले जेठी बुहारी घर भित्रिएकी थिइनन् र घटनापछि उनी माइतीमै बसिन्।
यति ठूलो विपद भएको चार वर्ष बित्यो । उनीहरूलाई गाउँले र मुम्बईमा बसेका नेपालीबाहेक अरू कसैले सहयोग गरेन । ‘आँसुमै बित्यो चार वर्ष । बाँकी जीवन पनि उनीहरूकै यादमै बित्छ। अरू उपाय केही छैन,’ उनले भनिन्। यो कथा आजको कान्तिपुरमा सुरेशराज न्यौपानेले लेखेका छन्।
यो घटनाका पीडितलाई न्याय दिलाउन सुरुदेखि नै पहल गरिरहेका मुम्बईमा बस्ने शालिग्राम तिवारीले नेपाली दूतावास पनि गम्भीर नभएको बताए।
उनले फोनमा भने, ‘मुद्दा चलाउन कागजात चाहिन्छ भनेर म आफैं गाउँ पुगेँ । केही न केही भए पनि क्षतिपूर्ति पाउनुपर्छ भन्ने थियो ।’ कानुनविद् आचार्य पनि यस प्रसंगमा भारतका लागि नेपाली दूतावास र नेपाल सरकारलाई दोषी देख्छन्।
‘दूतावासले पहिलेदेखि नै चासो देखाएको भए सरकारी वकिलले त्यस्तो कमजोरी गर्ने सम्भावना कम हुन्थ्यो,’ उनले भने ।
मुम्बईका प्रवासी नेपालीले घटनाबारे सुरुदेखि नै दूतावासलाई बताउँदै आएका थिए । मुम्बई प्रहरीले पनि घटनालगत्तै दिल्लीस्थित नेपाली दूतावासलाई औपचारिक रूपमै जानकारी गराएको थियो।
त्यसपछि तत्कालीन कन्सुलर गणेश अधिकारी मुम्बई पुगेका थिए । पछि कपिलवस्तु नै घर भएका दीपकुमार उपाध्याय राजदूत भएपछि केही हुन्छ भनेर पीडितले आस गरे तर केही भएन। पूर्वराजदूत उपाध्यायले पीडितले क्षतिपूर्ति नपाउनु दुःखद भएको र राज्यको तर्फबाट कमजोरी भएको स्विकारे।
घटनालगत्तै सत्भरा पुगेका जिल्ला प्रशासन कार्यालयका अधिकृतले काजकिरियाका लागि सरकारले एक एक लाख दिने घोषणा गरेका थिए तर पीडित परिवारले पाएनन्।
केही गाउँले गोदामका साहुले क्षतिपूर्ति दिन्छन् कि भन्ने आस गरेर मुम्बई गएका थिए। उनीहरू पनि रित्तै हात फर्किनुपर्यो।
‘अब त कतैबाट सहयोग पाइएला भन्ने आस मरिसक्यो,’ श्यामदेवले भने, ‘भगवान्ले नै हेपेपछि मानिसले के हेर्थे र?’ गाउँका अगुवा तथा राजनीतिक नेता सच्चिदानन्द शुक्लले राज्यले यतिसम्म लापरबाही गर्छ भन्ने कुरा सभ्य समाजमा सोच्न नसकिने बताए।
‘मृत्युका बेला त आफ्ना नागरिकको चासो नराख्ने राज्यबाट अरू के अपेक्षा राख्नु ?’ उनले भने। ‘भगवान्ले त हेरेनन्, सरकारबाट के आस?’ परसरी यस्तै सोचेर चित्त बुझाउँछन्।
भारतको केन्द्र सरकार र महाराष्ट्र राज्य सरकारले नेपालीका पक्षमा सामान्य मानवीय व्यवहारसमेत देखाएनन्। आगलागीका बेला महाराष्ट्रका मन्त्री एकनाथ सिन्देले घटनास्थल पुगेर घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिलाउने वचन दिएका थिए तर अहिलेसम्म हात परेको छैन।
दुई महिनाअघि दिल्लीको रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डीमा आगलागी हुँदा ज्यान गुमाएका ४३ जनाका आफन्तलाई दिल्ली सरकारले तत्काल १० लाख भारु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुई–दुई लाखका दरले र घाइतेलाई ५० हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरेका थिए।
यस्तै प्रकृतिको मुम्बई घटनाका पीडित नेपालीले भने क्षतिपूर्ति पाएनन् । सत्भराका शिक्षक गिरीले भने, ‘आफ्नै सरकारले आँखा चिम्लिएपछि भारतले के गर्थ्यो?