निजी अस्पतालमाथि सरकारले लियो 'एक्सन' - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

निजी अस्पतालमाथि सरकारले लियो ‘एक्सन’



काठमाडौं– सरकारले निजी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका अधिकांश स्थानका निजी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

सरकार प्रवक्ता अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकार कोरोना संक्रमितको उपचार नगर्ने अस्पताललाई नियन्त्रणमा लिएर बिरामीको उपचार गराउने जानकारी दिए ।

‘अहिले केही अस्पतालमा बिरामीको उपचार हुन छाडेको छ । कोभिडका बिरामीको पनि परीक्षण गरेर रेफर गर्ने क्रम बढेको छ । अब कोभिडका बिरामीको उपचारका लागि सरकारले जुनसुकै अस्पताल नियन्त्रणमा लिन सक्ने गरी निर्णय लिएको छ’, प्रवक्ता खतिवडाले भने ।

त्यस्तै सरकारले अस्पतालमा उपचार नपाएर बिरामी मर्न थालेपछि कडाई गरेको छ । प्रवक्ता खतिवडाले कोरोना भाइरसको संक्रमण नभएका बिरामी रिपोर्टका कारण मृत्युवरण गर्नुपर्ने अवस्थामा पुगेको भन्दै अब त्यसको अन्त्य हुने बताए ।

‘अस्पतालै पिच्छे बिरामी धाइरहनुपर्ने अवस्था रहनु हुँदैन । बिरामी भर्ना नगर्ने भन्‍ने हुँदैन । बिरामी रेफर गर्ने क्रम पनि अब अन्त्य हुन्छ’, उनले भने ।

प्रवक्ता खतिवडाले सरकारको निर्देशन नमान्ने अस्पताललाई कडा कारबाही गरिने चेतावनी दिए । उनले सरकारलाई असहयोग गर्ने अथवा विरोध गर्नेलाई कारबाही गर्ने बताए ।

‘यस कार्यमा असहयोग र बाधा, विरोध गर्नेलाई कडा कारवाही गरिनेछ’, उनले भने, ‘कोभिडको मात्रै बिरामी हेर्छु, अर्को हेर्दिनँ भन्‍न थालियो भने हामीले पार लगाउन सक्दैनौं ।’

त्यस्तै उनले कोरोना संक्रमितको उपचार गर्ने अस्पताल थप्ने तयारुी भएको जानकारी दिए । प्रवक्ता खतिवडाले सरकारले कोरोना डेडिकेटेड अस्पताल मात्रै बनाउने निर्णय गरेको बताए ।

‘अब जतासुकै कोरोनाको उपचार गरेर हुँदैन, कोभिडको मात्रै उपचार गर्ने अस्पताल थप्दैछौं । निजी अस्पतालमा पनि प्रयोगमा ल्याउँछौं’, उनले भने, ‘सबै स्वास्थ्य संस्थाले यो निर्णय पालना गर्नुपर्छ। यो सरकारको आदेश हो ।’