सरकार असफल भए सिंगो देश नै असफल हुन्छ : श्रेष्ठ
नेकपाका नेता नारायणकाजी श्रेष्ठले बर्तमान सरकार असफल भए सिंगो देश नै असफल हुने बताएका छन्।
ननेता मदन भण्डारीको ६७औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका प्रवक्ता श्रेष्ठले सरकारलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा राखे।
‘सम्माननीय प्रधानमन्त्री केपी ओली नेतृत्वको हाम्रो सरकार असफल हुनु भनेको केवल सरकार मात्रै असफल हुनु होईन’ नेता श्रेष्ठले भने, ‘जनताले देखेको समृद्धिको सपना असफल हुनु हो, कम्युनिष्ट आन्दोलन असफल हुनु हो र सिङ्गो राष्ट्र नै असफल हुनु हो।’
उनले सत्तामा जाँदा कम्युनिष्ट पार्टीमा भ्रष्टिकरण बढ्ने गरेको भन्दै नेकपामा पनि विचलन र भ्रष्टिकरणको सम्भावना रहेको औँल्याए। उनले भने, ‘हाम्रो पार्टी सामुहिक नेतृत्वको आधारमा चलोस्, संस्थागत आधारमा चलोस्। किनभने सत्तामा गएका पार्टीहरुमा भ्रष्टिकरण बढ्ने गरेको छ। हाम्रो पार्टीमा पनि त्यही सम्भावना छ।’
नेता श्रेष्ठले मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको सिद्धान्त महत्वपुर्ण रहेको बताए। भण्डारीले प्रतिपादन गरेको सिद्धान्त नै २१औं सताब्दिको जनवाद भएको दाबी गर्दै उनले त्यही सिद्धान्तका आधारमा पार्टी एक भएको बताए।
उनले पुँजीवादी व्यवस्थाले केवल नाफा आर्जनलाई महत्व दिने गरेकोले आफुहरु समाजवादमा जान चाहेको प्रष्टिकरण दिए। पछिल्लो समयमा पुँजीवादले नाफाका लागि विश्वलाई नै ध्वस्त पार्दै लगेको भन्दै कम्युनिष्टहरुले मात्रै मानव समाज र पृथ्वीलाई जोगाउन सक्ने दाबी पनि गरे।