सरिता गिरीलाई २५ वर्ष जेल हुनसक्ने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सरिता गिरीलाई २५ वर्ष जेल हुनसक्ने



काठमाडौँ-पछिल्लो समय विवादमा आएकी समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ।

नेपालको नयाँ नक्शा जारी भएपछि देशकै सार्वभौमिकता नै खतरामा पर्नेगरी गिरीले संविधान संशोधन विधेयकको विरोध गरेपछि उनीमाथि विभिन्न आरोप लाग्दै आएका छन् । सो क्रममा नेपालको सार्वभामैसक्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन माग गर्दै जाहेरी परेको छ ।

आफ्नै पार्टीले पनि कारबाही गर्ने तयारी गरेकी सांसद गिरीले जेठ ३१ गते संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पाकिस्तानबाट बंगालदेश बने जस्तै नेपाल पनि टुक्रने र निशान छाप संशोधन विधेयककको समर्थन गर्नु आत्महत्या गर्नु सरह भएको अभिव्यक्ति दिएकी थिइन्।

उनको अभिव्यक्ति नेपालको सार्वभौमसक्ता, भौगोलिक अखण्डता विपरीत भएको र त्यस्ता अभिव्यक्ति दिन संविधानले नै निषेध गरेको भन्दै अधिवक्ता सन्तोष भण्डारीसहित चार जनाले दर्ता गराएको जाहेरीमा उनलाई तत्काल पक्राउ गरी राज्य विरुद्धको अपराजमा मुद्दा चलाउन माग गरिएको छ।

गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (५) क अनुसार जन्म कैद अर्थातु २५ वर्षसम्म सजाय गर्न किटानी जाहेरीमा माग गरिएको छ।

सांसद गिरीले पार्टीको निर्देशन विपरीत निशान छाप संशोधन विधेयकलाई नै खारेज गर्नुपर्ने संशोधन दर्ता गराएकी थिइन्। उनको संशोधनलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरिरिदएका थिए।