नेपालविरुद्धको मुद्दामा अघि बढ्यो सर्वोच्च अदालत - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

नेपालविरुद्धको मुद्दामा अघि बढ्यो सर्वोच्च अदालत



काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरूमाथि मुद्दा चलाउन सर्वोच्च अदालतले प्रमाण उपलब्ध गराउन आदेश दिएको छ ।

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा सर्वोच्चले प्रमाण उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश जारी गरेको हो।

सर्वोच्चले भ्रष्टाचार मुद्दा चलाउन सकिने वा नसकिनेबारे निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको हो । आइतबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय आन्दनमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।

इजलासले अख्तियार, विशेष सरकारी वकिल र सम्बन्धित अन्य निकायसँग आवश्यक विवरण मगाउने आदेश गरेपछि यो मुद्दामा थप अध्ययनको चरणमा प्रवेश गरेको छ।

यही मुद्दामा मुछिएका अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित तीन जना पुर्पक्षका लागि थुनामा पठाउन विशेष आदेश गरिसकेको छ।

१७५ जनालाई विपक्षी बनाउँदै अख्तियारले विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेस नेता विजयकुमार गच्छादार, अख्तियारका पूर्व प्रमुख दीप बस्नेत, पूर्वमन्त्रीहरू छविराज पन्त, चन्द्रदेव जोशीसहितलाई मुद्दा दायर भएको छ।

अख्तियारले नेपालसहित उक्त क्षेत्रको जग्गा धनीपुर्जा भएका नेकपा महासचिव विष्णु पौडेलका छोरा र सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीलाई भने उन्मुक्ति दिएको थियो।